DAY OUT. (स्मृतिका पानाहरु)

“कत्ति धेरै हिउँ परेको है।” उस्ले झ्याल बाहिर हेर्दै भनिन् “तिमीलाई यसरी हिउँ परेको बेला के गर्न मन लाग्छ? मलाई त सिरकमा बेरिएर सुत्‍न मन लाग्छ।”

उस्का कुराहरु अजिबका हुन्थे, प्रश्‍न तेर्साइ नसक्दै आफ्नो तर्फबाट उत्तर पनि दिने।

आफू जन्मे हुर्केको ठाउँ सबैलाई प्यारो लाग्छ। र अर्को पनि एउटा ठाउँ हुन्छ जहाँ आफू नजन्मे पनि उत्तिकै प्यारो लाग्छ। ‘होङ्सङ’ यो ठाउँमा मैले करिब ५ वर्ष बिताए। आज यो ठाउँबाट अन्तै रहेपनि समय समयमा पुग्‍ने गर्छु यहाँ, र खुसी हुन्छु जसरी एउटी महिला खुसी हुन्छिन वर्षदिन पछि आफ्नो माइत पुग्दा।

डाइसो र हाना बैङ्‍क बिचको गल्ली हुदै २ मिनेट जति हिडेपछि दाहिने मोडिएर करिव ११ पइला हिडेपछि देब्रेतिर छ यो क्याफे।दोस्रो तल्लामा बसेर मधुरम सङ्गित सुन्दै कफि पिउदा अर्कै लोकको आनन्द दिन्छ। यहाँ मिलाएर राखिएको पुस्तक अनि डिम लाइट ले थप उर्जा थप्‍ने काम गर्छ।

यहाँ आएपछि अर्को एक सम्झनाले केहिछिन भएपनि म बिगतमा पुग्‍ने गर्छु। म क्याफेको झ्यालबाट बाहिरको नजारा हेर्दै कफि पिउदै छु। तर यो कफि सदा झै मिठो छैन, मन नै अमिलो भएपछि के पो मिठो हुन्छ र। बाहिर फुस फुस हिँउ परेकोले मन अमिलो भयो या कफिवालीको सम्झनाले? मन भित्र बिचारहरु आफैमा द्वन्द गर्न थाल्यो। ‘कफिवाली’ यो नाम मैले राखिदिएको हो। खुब खुसी भएकि थिइन् नेपाली नाम पाउदा।


करिब ६ वर्ष पहिलेको कुरा हो। मध्य हिउँदको महिना थियो। त्यो दिनभरि पातलो हिउँ परिरहेको थियो,भेडाको उन जस्तै। रुखो डाँडाहरु हिउँले सेताम्मे भएपनि लगलग कमाइहाल्ने चिसो भने थिएन। माइग्रेन्ट सेन्टरको क्लास सकिएर कोठा फर्कने बेला अलि बेस्सरी हिउँ पर्यो, ओत् लाग्‍न कै लागि म क्याफेमा छिरे। ढोका खोल्ने बित्तिकै अति नै सुन्दर नयनहरुले मलाई स्वागत गर्यो। अक्सर कोरियन युवतिहरु कोइ अन्जानसँग आँखा जुधाउदैनन् तर उस्ले लगभग दुई सेकेण्‍ड नजरको वाण हानिन्। म भुतुक्कै। हाम्रो जस्तो हतारमा बनाइएका आँखा थिएनन् ति। इश्वरले पनि बढो फुर्सदमा बनाएको हुनुपर्छ। तर बोलि अलि नाके रहेछ ‘के खानु हुन्छ?’ भनेर सोध्दा याद गरे।

मैले भने “क्यापुचिनो दिनुहोस्”

“चिसो लिनुहुन्छ कि तातो?”

मैले हल्का मुस्कुराउदै भने “मौसम चिसो छ, तातो दिनुस।”

यति भनिसक्‍दा उस्ले पुलुक्क मलाई हेरिन,र भनिन् “विदेसी पो हुनुन्दो रहेछ।”

डल्लो अनुहारमा चिम्सो आँखा भएर होला केही कोरियनहरु झुक्किन्छन बेला बेला।

मैले भने “हो त।”

“मिक्स कोरियन त हैन नि?” उस्ले हाँस्दै सोधिन।

कोरियन नागरिक अन्य देशका नागरिकसँग विवाह गरेर जन्मेका सन्तानहरु थुप्रै छन यहाँ, त्यहि भएर सोधिन उस्ले।

मैले ठट्टाको सैलिमा भने “आमालाई एकपल्ट सोध्छु है।”

उनी एकैछिन अलमलिइन र केहि याद आए झै गरेर हासिँन खित्कै छाडेर। परतिर बसेका एकजोडिले हामिलाई पुलुक्क हेरे अनि आफ्नै कुरामा व्यस्त भए।

प्राय प्रतेक आइतबार हाम्रो भेट हुन्थ्यो, र प्रतेक भेटमा उसँग प्रश्‍नका चाङ् हुन्थे। विशेषगरि नेपालको बारेमा खुब रुची राख्थिन्। एकपल्ट त वाक्कै लागेर भन्देको थिए, ‘तिमीहरुको कोरियामा एउटा घाँम लाग्छ हाम्रो नेपालमा दुइ वटा लाग्छ, त्यसैले तिमीहरु अलि गोरो भको हामी अलि कालो ।’ यति भनेपछि हो झै मानेर एकैछिन खै के सोचिन, फेरि ‘म मुर्ख है।’ भन्दै आफ्नै मुर्खाइमा हाँसिन।

उनी निक्कै मिलनसार थिइन्। कुनै हप्ता भेट्न गइन भने अर्को हप्ता सोध्‍ने गर्थिन ‘बिरामी पो भयौ कि?’ कुनै हप्ता उनि भेटिइनन् भने म त्यस्तै सोध्‍ने गर्थे।

नेपालको हिमालया हेर्ने ठुलो रहर छ भन्थिन। हात्तिलाई छुन मन छ भन्थिन तर चड्न चाहिँ डर लाग्छ रे। मैले आफू जङ्गली हात्तिसँग जम्का भेट भएको कहानी सुनाउदा उस्को मुख खुल्ला को खुल्लै थियो।

“कत्ति धेरै हिउँ परेको है।” उस्ले झ्याल बाहिर हेर्दै भनिन् “तिमीलाई यसरी हिउँ परेको बेला के गर्न मन लाग्छ? मलाई त सिरकमा बेरिएर सुत्‍न मन लाग्छ।”

उस्का कुराहरु अजिबका हुन्थे, प्रश्‍न तेर्साइ नसक्दै आफ्नो तर्फबाट उत्तर पनि दिने।

“कुनै सुन्दर क्याफेमा जान मन लाग्छ” मैले भने “अनि मधुरो सङ्‍‍गित सुन्दै कफि पिउन मन लाग्छ।”

“एक्लै?”

“अ! एक्लै।”

“मैले डिस्टर्ब गरे है?”

“मैले त्यसो भने र?”

“एकलकाँठे रहेछौ।”

“जन्मेदेखी नै”

उनी त्यहाँ पार्ट टाइम काम गर्थिन सप्ताहान्त मा मात्र, अरु दिन कलेज जान्छु भन्थिन्। जिन्दगीलाई हेर्ने नजरिया देश अनुसार फरक हुन्छ। उस्को लागि जिन्दगी भनेको कमाउनु, रमाउनु, अनि कमाएको सिध्याउनु र फेरि कमाउनु थियो। भोलिको लागि नसाँच्‍ने।

म क्याफे पुग्दा आफ्नो काम नै छाडेर गफिने गर्थिन्। दुईचार नेपाली शब्द पनि कण्ठ पारेकि थिइन्। “नामास्थे आउनुभो?” भन्दै स्वागत गर्ने गर्थिन्।

“तिमीहरुको मा समुन्द्र छैन” उस्ले भनिन् “माछा खाँदैनौ होला है?”

मैले अचम्‍म मान्दै सोधेको थिए “माछा भनेको के हो?”

“पानि मुनिको मासु के”

“ए!!! हुन्‍न नि “

अर्को भेटमा भन्‍ने विचार गरेको थिए कि नेपालमा २३० भन्दा ज्यादा प्रजातिको देशी माछा पाइन्छ भनेर। तर कामको व्यस्तताले हाम्रो भेट हुन सकेको थिएन्। तिनहप्ता पछि क्याफे पुग्दा यहाँबाट काम छोड्यो भन्‍ने सुने। फोन नम्बर लिने दिमाग नै पुगेन।

हिउँ पर्न रोकिसकेको थियो। बाटो हिउँले भरिएको थियो। अरुले पाइला नराखेको ठाउँमा टेक्दै म क्याफे बाट निस्केर पार्क तिर लागे। कोरियामा बिकास सँगै प्रकृतिलाई पनि राम्ररी जोगाएर राखिएको छ। पार्क पुग्‍नु अघि चौबाटोको देब्रेतिर एउटा सालिक छ, जस्लाई ‘वीआन्बु'(위안부 소녀상) भनिन्छ।

इतिहास

१९१० तिर कोरियामा जापानको सार्वभौम सत्ता कायम भयो। कोरिया कब्जा गरेको जापानले जबरजस्ती आफ्नो शासनको नीति लागु गर्यो। जापानी औपनिवेशिक शासनको विरोध गर्नेहरुलाई उत्पीडन गरियो, र कैद गरियो। जब दोस्रो विश्वयुद्ध सुरु भयो कोरियालिहरुलाई पनि जबरजस्ती सेनामा लगिए। यहि दोस्रो विश्वयुद्धको बेला कोरियाका महिलाहरुलाई खान,लगाउन तथा काम दिने प्रलोबन देखाएर जापानी सेनाहरुले आफ्नो यौन चाहना पुरा गर्ने माध्यम बनाए। त्यहि जापानी सेनाहरु बाट यौन शोषणमा परेका महिलाहरुलाई वीआन्बु सोन्यसाङ् (위안부 소녀상) भनिन्छ। यसरी जापानी सेनाहरुको यौन दासी महिलाहरुको सम्झना तथा न्यायको लागी कोरियाका बिभिन्‍न ठाँउहरुमा उनिहरुको सालिक बनाइएको छ।

त्यहीँ सालिक छेउमा निक्कै वृद्धा देखिने बुढि आमा हुनुन्थ्यो। कोप्रिएको शरीर र चाउरिएको छाला भएपनि अनुहारमा केही पाउडर लगाए झै देखिन्थ्यो। कपाल सेतै भएपनि परेला निख्खुर कालो थियो, सायद कालो रङ दलिएको हुनुपर्छ।

उहाँ एक्लै बोल्दै हुनुन्थ्यो। ‘अम्मा! जाडो भयो होला है? अब हुउँद सकिनै लाग्यो।’ म एकैछिन अलमलिए मलाई पो भनेको हो कि भनेर। तर उहाँ एक्लै बरबराउदै हुनुन्थ्यो। सालिकमा लागेका सबै हिउँ झारिदिनुभयो, र एउटा गलबन्दि लगाइदिनुभयो। मानौ उहाँको अघि सालिक नभएर कुनै जीवित मानिस उभिएको छ।

पेमला लामाले एउटा अन्तरवार्तामा भन्‍नु भएको थियो रे, ‘जब झरिमा भिज्दै गरेको नारायण गोपालको सालिक देख्छु, गएर छाता ओढाइदिन मन लाग्छ।’ मलाई त्यहि कुरा याद आयो। साँच्चै कत्ति प्रेम होला है पेमला लामाको ह्रदयमा नारायण गोपाल प्रति?

म नजिकै उभिएको देखेर होला ति बुढि आमा सालिक तिर हेर्दै ‘अब अर्को महिना मात्र‍ आउछु है’ भनेर नजिकैको चौतारी तिर लाग्‍नुभयो। मैले पढेको छु यो सालिकमा भएकि महिलाको जीवनी, उस्ले भोग्‍नु परेका अत्याचारहरु, उस्ले पाएका यौन शोषणहरु। तर पनि किन किन यि बुढी आमासँग कुरा गर्न मन लाग्यो, सोध्‍न मन लाग्यो कि ‘को हुन यि सालिकमा भएकि महिला?’

हिउँ फेरि पर्न सुरु भयो, मैले मौका पाए चौतारी पस्‍ने।

“नमस्ते आमा” कसैको नजिक हुनु छ भने साइनो लगाएर बोलाउनु पर्छ, मैले त्यहि गरे।

“नमस्ते” आँखा चम्किला पार्दै भन्‍नुभयो “जाडो भएन? अलि कपडा लगाउनु पर्छ नि”

“ठिकै छ” हात रगड्दै मैले भने “सालिकलाई पो गलबन्दि लगाईदिनु भयो त।”

“चिसो छ, मन लाग्यो अनि”

“कत्ति दुख पाए होलान् है यि महिलाहरुले” मैले कुराको सिलसिला अघि बढाउन चाहेँ।

आमै अप्रत्यासीत रुपमा खुलिन् “धेरै दुख थियो त्यो बेला, खानु लाउनु थिएन गाउँ घरमा छोरी मान्छे र ससाना बच्चाहरु मात्र हुन्थे।” एकैछिन रोकिएर फेरि बोलिन् “आमाले खानेकुरा ल्याउनु हुन्छ र खानु पाइन्छ भन्दै बच्‍चाहरु पर्खि बसेका हुन्थे।”

“किशोरीहरु मात्र लिएर जान्थे होइन र?”

“के किशोरी के नानीको आमा, आर्मीहरुले कस्लाई छोड्नु।”

“अनि आमाले खानेकुरा ल्याउनु हुन्थ्यो?” नसोध्नु पर्थ्यो सायद मैले प्याच्च सोधे

“आमाहरु फर्किदा खाने कुरा लिएर आउथे, नफर्किदा बच्चाहरु भोकै सुत्थे। गार्हो त भाइ बहिनिहरु हुनेलाई थियो, आफै त सानो अनि आफूभन्दा स सानो भाइबहिनि।” आमै भावुक देखिइन्

“नफर्किदा भन्‍नुभयो नि त्यसको मतलब?”

“खानेकुरा ल्याउछु भनेर गएको आमा कहिल्यै नफर्कने गरी हराउथे। त्यसपछि हुन्थ्यो ति बच्चाहरुको बिचल्ली।”

त्यसैबेला उहाँको घाँटिमा झुण्‍डिएको फोन बज्यो।

“मेरो भाइको छोरा लिन आयो,गको है” जाँदा जाँदै भनिन् “मैले पनि एउटा भाइलाई हुर्काउनु पर्यो।”

शुभम्

बिशाल लिम्बु(11 jan2020)

Add a Comment

Your email address will not be published. Required fields are marked *