Day Out #1

Nov 02 2024 शनिवार दिनको 12:25

पछाडिको सिटमा सम्झना दिदी र समीक्षा बैनी तिहारको बिषयमा कुरा गर्दै थिए। मेरो ध्यान कुरामा भन्दा अगाडि बाटोमा थियो। पाँच वटा बाटो छुट्टिने राउण्‍डरोटमा पुग्दा मेरो गाडिको गति 20km/h भन्दा कम थियो। त्यसैबेला उस्तै दिशाबाट आएको टेस्ला गाडि र मेरो गाडि ठोक्किन पुग्यो।

सम्पुर्ण विवरण उल्लेख गर्नु अघि कोरियनहरुको आचरण र विदेशी प्रति हेर्ने दृष्टिकोणको बारेमा केहि अनुभवहरु साझेदारी गर्न चाहे।


दुई वर्ष पहिले कुरा हो, छुट्टिको दिन थियो। म वाक गर्दै अलि परै पुगेको थिए। खेतमा काम गरिरहेको एकजना बुढा बा सँग आँखा जुध्यो। के गरुम गरुम भएर मैले ढोगिदिए। ढोगि के देको बुढाको अनुहारमा चमक आइगयो।

‘कुन देशको मान्छे हौ?’ बुढाले म तिर आउदै प्रश्‍न गर्यो।

‘नेपालबाट आएको’ मैले नरम लवजमा उत्तर दिए।

‘आ‍‍..नेफाल.. हिमालाया..?’ बाबैलाई थाहा रहेछ नेपालको बारेमा।

केहि बेर यताउतिको बातचित भयो, बातचित पनि के भन्‍नु प्रश्‍न उत्तरवाला अन्तरवार्ता भयो।

‘ऊ त्यो छ नि त्यो धान को बोट हो, हामिले खाने भात त्यहि धान बाट आउछ।’ बुढाले मुनि खेत तिर देखाउदै भन्यो।

मैले एकैछिन ट्‍वा परेर बुढाको मुख हेरे र आश्‍चर्य मान्दै भने

‘अ.. म.. धानको बोट यस्तो पो हुन्छ?’

केहि सिकाउन पाएकोमा बुढा मख्ख पर्दै फेरि भन्यो ‘ऊ त्यो खुर्सानिको बोट हो अनि ऊ त्यँहा छ नि त्यो शखरखण्ढ हो, नेफालमा त यस्तो केइ हुन्‍न होला?’

बुढालाई लागेको रहेछ कि नेपालमा हिउँ मात्र पर्छ, नेपाल अत्यन्तै गरिब छ र खान नपाएकै कारण यहाँ आएका छन्। बुढाको अनुहारमा हेरे, तर्क गर्न उचित मानिन। सोचे मान्छेको इहलीला कत्ति गलत धारणा र अज्ञानसँगै सकिएर जाने रहेछ।

अलि पर भान्टा(बैगुन) टन्‍नै फलेको रहेछ।

यस्सै लाटा उस्सै लाटा म एक्साइट् हुदै कुदेर गए अनि भने ‘आहा! कस्तो राम्रो कांक्रो!’

बुढो मुसुमुसु हाँस्यो,

मैले थपे ‘हाम्रो देशमा त हरियो हुन्छ कांक्रो यहाँ त निलो निलो पो हुने रहेछ।’

बुढा नजिक आएर ५,६ वटा टिपेर मलाई दिदै भन्यो, ‘यो भान्टा हो लगेर पकाइ खानु।’ मैले खुसी हुदै लिएर आए ।

अलि पर आइसकेको थिए बुढाको मधुरो आवाज आयो ‘उसिनेर खानु है।’

मैले फर्किएर भने ‘हुन्छ, आलुसँग उसिनेर खान्छु।’

हामि दुवैजना दंग। म सब्जि पाएर, बुढो उसिनेर खाने भान्टा दिएर।


18 Aug आइतबारको दिन,

हाम्रो क्रिकेट गेम थियो।  जुत्ता र बल झोलामा राख्दै गर्दा ढोकामा ठूलो आवाज आयो। मलाई झनक्क रिस उठ्यो। बिस्तारै ढोका ढकढकाउँदा पनि हुने। को आयो भन्दै मुर्मुरिदै ढोका खोले।  ढोका खोल्दा पुरै प्यासेज धुँवा धुँवा। पल्लो कोठामा आगो लागेछ। हत्तपत्त बाहिर निस्किए। बिस्तारै बिस्तारै घरभरि धुँवा फैलिन थाल्यो। पाँचवटा दम्कल सही समयमा आइपुग्यो र ठूलो क्षति हुनबाट बाँच्यौ। आगो निभेपनि कोठाहरुको अवस्था बस्‍न लायक थिएन।

आगोलागेको कोठामा लगभग ७० वर्षको कोरियन बस्‍ने गर्थ्यो। चुरोटको ठुटा राम्ररी ननिभाइ फालेकोले आगलागी भएको निष्कर्ष प्रहरीहरुले दिए।

त्यसरात बिवशको मा गएर सुते। बस्‍न खासै लायकको त थिएन तैपनि दोस्रो रातबाट म कोठा मा नै सुते। वल्लो पल्लो कोठाका कोरियनहरु तिनदिन पछि मात्र कोठामा फर्कोए।

एकदिन घरबेटिले फोन गरेर सोध्यो, “कत्ति रात बाहिर सुतिस?”

मैले एकरात मात्र बाहिर सुतेको कुरा बताए।

“अरु कोठाकाहरु तिन रात बाहिर सुतेछन, तैलेपनि तिन रात बाहिर सुते भन। पैसा आउछ।”

वरपरकाहरु क्षति देखाउन सल्लाह गर्दै थिए। यि मानवहरुमा अमानवता झल्‍किरहेको थियो। मेरो नजरमा यि ७० वर्षे बुढो बिचराको पात्र थियो।

कोरियामा यसरी पिडित पक्षलाई क्षतिपुर्ति दिने कानुन छ। पिडित तोकिएकाहरुले अलि बढाइ चढाइ गरेर मोटै रकम असुल्ने पनि गर्छन।

माथिका दुइवटा प्रसङ्‍ग बाट कोरियनहरुको विदेशी प्रति हेर्ने नजर र यिनिहरुको आचरण बुझ्‍न सकिन्छ। हजारौ यस्ता अनुभवहरु पनी छन जहाँ विदेशी भएकै कारण हेपाइ सहनु परेको होस। पसलमा होटलमा या बस भित्र कुनै न कुनै प्रकारको भेदभाव प्रतेक विदेशीले भोगेकै हुने गर्छन। अझ केही सानो गल्ती भएमा मोटो जरिवाना तिर्नु त साधारण कुरा हो।


एलन घर फर्किएको दुइदिन भएको थियो। कर्णदाइले देउसिरे खेल्ने र जमघट गर्ने भन्‍नुभएकोले उतै जान तयार हुदै थिए। समीक्षा बैनीको फोन आयो र बजार पुर्याइदिनु भन्‍नुभयो। सोचे बैनीहरुलाई बजार गराएर बेलुकि दाइको तिर जाँदापनि हुन्छ।

खुल्ला आकाश मज्जाको मौसम थियो। म दोस्रो लेनबाट गाडि चलाइरहेको थिए। राउण्डरोटमा गोल घुम्दै गाडि बाहिर निकाल्नु पर्ने हुन्छ। कुन बाटोबाट निस्कने त्यँहा म थोरै कनफ्यूज भए, त्यसैबेला पहिलो लेनबाट आएको गाडि म भन्दा अगाडि हुदै बाहिर निस्कन खोज्दा उस्को गाडिको पछाडिको भाग र मेरो गाडिको हेडलाइट ठोक्कियो।

त्यस गाढी बाट एकजना बुढि र उस्को बुहारि हुनुपर्छ ओर्लिएर होटल तिर लागे। छोराले पुलिसलाई फोन गरिसकेको थियो। मैले पनि मेरो बिमा कम्पनिलाई बोलाइसकेको थिए। भनाभन केही नभएपनी म विदेशी भन्‍ने सुनेर उस्को आँखा चम्केको मैले बिचार गरेको थिए।

त्यसरी गाढिमा ल्याएर दिदीबैनीलाई झमेलामा पारेकोले नरमाइलो लाग्यो। उहाँहरुलाई जानु भने मान्‍नु भएन। त्यस्तो बेला बोल्ने कोही चाहिन्छ। समिक्षा बैनीको कुराहरुले म आँटिलो भएको थिए।

प्रहरी घटनास्थलमा आइपुगेपछि अचम्मको नजारा देखियो, अघिसम्म ठिकै ति बुढिआमा त काम्‍न पो थालिन। भनौ सिकिस्त नै भइन। अब उस्को हस्पिटलको सम्पुर्ण खर्च मैले उठाउनु पर्ने हुन्छ भनेर बिमावालाहरुले मेरो सातो लगिहाल्यो। खैर! त्यँहाबाट सोधपुछ गरेर सबैलाई प्रहरीले बिदा गरे।

वनको बाघले खाऔस् नखाऔस् मनको बाघले खाने रहेछ। मेरो तिहार त्यति गत्तिलो भएन। हस्पिटलबाट बिल कति आउने हो, मेरो बिचार त्यहि थियो। सोमबार गाढि बनाउन लगे। एकहप्ता त्यहि गाढि छोड्नु परेकोले पाएको काममा नि जान सकिन। गाढीको ८लाख वन खर्च तिरे। गल्ति ६०% त्यो मान्छेको र ४०% मेरो छ भन्दै फोन आएको थियो। अलिकति मन हलुका भएपनि हप्ता दिन देखी ति बुढी आमै हस्पिटलमै छ भनेको सुनेर फेरि तनाब भयो। काम छाडेको महिना दिन हुन लाग्दै थियो। कम्पनी नपाएर छुट्टै तनाब । नयाँ नम्बर बाट फोन आउदा पनि डर लाग्‍न थालेको थियो।

लगभग दुईहप्ता पछि इनभेस्टिगेसनको लागि प्रहरीले चौकि बोलायो। बल्ल त्यतिबेला आमै हस्पिटलबाट डिस्चार्ज भईसकिन भन्‍ने खबर आयो। प्रहरीको भनाई अनुसार त्यस मान्छेले सम्पुर्ण गल्ति मेरै भएको भन्दै उजुरि दिएको रहेछ।

कोरियामा बस ड्राइभर भन्दा धेरै गुणा राम्रो व्यवहार प्रहरीले गर्ने गर्छन। उनिहरुले म पिडित भएको र ४०% गल्ति मा परेको निष्कर्ष गर्दै बाँकि जिम्मा बिमा कम्पनिलाई बुझायो।


होसियारी त हामीले जहाँ पनी अपनाउनै पर्छ, विदेशको हकमा अलि ज्यादा त्यत्ति। यस दुर्घटनामा सम्पुर्ण गल्ती मेरै मानेर ति बुढि आमा त्यत्रो दिन हस्पिटल बसेको हुनुपर्छ। मलाई पनि हस्पिटल बस्‍नु भनेर दुइचार जना कोरियनहरुले नसम्झाएको होइन। जे होस समस्या टर्यो। मेरो हकमा के कति जरिवाना बेहोर्नु पर्ने हो अझै खुलस्त भएको छैन। म बिमा कम्पनिको फोनको प्रतिक्षामा छु।

www.ekahaniharu.com

शुभम्।

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *