www.ekahaniharu.com

This image has an empty alt attribute; its file name is IMG_3614.png

घरमा तिनवटा पोथि कुखुरा छ। एउटाले औथ्रा खोज्दै रहेछ क्क्.. क्क्.. गर्दै घर को चक्कर लगाउदै छ। साँझको ६ बजेको हुनुपर्छ शिव मन्दिरमा गुन्जेको आरती मधुरो सुनिन्दै छ। छिमेकि घरहरुमा तिहुन पाक्दै गरेको वास्‍ना घरी घरी नाकैमा ठोकिन्दै छ। म ति सवै कुराहरु सुनेर पनि नसुने झै ‍एकोहोरी रहेको छु। पन्ध्र वर्ष पुरानो टिनको बाकस अघि।

कुनै-कुनै एकान्तको एक्लोपन निकै प्यारो हुने गर्छ नि है। त्यहि एकान्तमा कसैको याद दिलाउने चिनो जस्तै कि रुमाल औठी या चिठी हातमा पर्दा त ओहो!! त्यो एकान्त अनि यादहरु कति संयोगले मिलेको  मिठो एकोरोपन।  यी यादहरु यति स्पष्ट हुन्छन् कि, यिनीहरूको सम्झनामा हामी त्यही पुरानो कालखण्ड जिउने गर्छौ त्यही जीवनका मिठा पलहरू।


  माया

तेस्रो बेन्चको झ्यालतिर सेतो कुर्था कालो सरुवाल कालै सलमा घरि घरी डट पेन मुखमा लाँदै बसेकी हुन्थिन् उनी। झ्यालबाट आएको हावाले अगाडि आएको उनको कपालसँग जिस्किएको म बेन्चमा ढल्केर हेरिरहन्थे, तब मनबाट एउटै आवाज आउँथ्यो। मेरी माया।

मेरो टाउको दुख्‍ने र ज्वरो आउने बहाना हटिसकेको थियो। म त शनिबार पनि स्कुल जान तयार हुन्थे। केवल उनलाई हेर्न। साथीहरुले तेरो लव भन्दै जिस्काउँदा अलिअलि लाज अलिअलि खुसीले रातो हुँदै देखावटी रिसाउने म, कहिलेकाहीँ उनी नजिक पर्दा डरले खुट्टा कमाउने गर्थे। ड्रईङ् गर्नै नजान्‍नै भएपनि बेन्चको खाली ठाउँ र कापीको गत्ता सबैतिर लेखिहिड्थे A+M ।

  एक दिनको कुरा हो। साथीहरुसँग हल्ला गर्दै अन्तिम सिटमा थियौँ। माया म भएतिर आउदै थिइन्। मेरो मुटु खै कतिको गतिमा चल्न थाल्यो।

“आदित्य” उनले बोलाइन्।

म स्तब्ध भए यो मेरै नाम थियो तर मायाको बोलीमा पहिलो पल्ट। मलाई नै हो या अरु कोही, आफ्नै नाम हो कि होइन। म त अलमल्लमा परे। फेरि उनले भनिन्

“आदित्य एकैछिन यता आउन।” हो मलाई नै बोलाकी रहेछिन्।

आम्मामा!!! कति चाहिँ गाह्रो भयो मलाई उनको नजिक पुग्‍न। केटाहरूले अ….  भन्दै थिए कोही मेरो नाजुक अवस्था देखेर पछाडिबाट ढकेल्दै गयो.. गयो.. भन्दै थिए। मुटुको धड्कन कानसम्म नै  सुनिँदै थियो।  खुट्टा कापेको म आफैले महसुस गरे। सम्हाल्न आफूलाई पूरै प्रयत्नशील थिए। अलिअलि मन्द मुस्कानमा उनले भनिन्

“भोलि म्याथको सर आउनुहुन्‍न रे।  मैले चक्रिय ब्याज राम्ररी बुझेकी छैन। भोलि मलाई सिकाइदिन सक्छौ?” 

बोली मुखबाट निस्के मरिजाउँ। जबरजस्ती “अ! हुन्छ।” भनेर शिर हल्लाइदिए। उनी “थ्याङ्‍क्यु” भनेर त्यहाँबाट गइन्। म खै के भए भए त्यो फिलिङ्स् साँच्चै नै अद्भुत थियो। अनि के साथीहरुले कुरा पाए आदित्य र मायाको लभ पर्यो भनेर। खुब हल्लापनि गरे। अनि मैले उनीहरुलाई रोक्ने बहाना मात्र गरिरहेको ।

त्यस दिन स्कुलबाट घर फर्कँदा मलाई केही याद छैन। त्यो सधैं भुक्ने कुकुर, त्यहाँ अर्को घरमा पालेको बाँदर, जुन म सधै हेर्ने गर्थे मलाई केही याद छैन। म यही सोचमा थिए यति धेरै छन् म भन्दा जान्‍नेहरु कक्षामा तर उनले मलाई नै किन भनिन्? के माया पनि मलाई मन पराउँछिन्? हुन त धेरै पहिलेदेखि नै मैले मायालाई मन पराउँथे। तर कुरा गर्ने हिम्मत कहिले आएन। उनको साथीहरुले पनि मेरो र उनको नाम जोडेर जिस्काउँथे रे तर माया कहिले रिसाइनन् रे! सुनेको थिए। यो सब सम्झदै एक्लै हाँस्दै कति छिट्टै घर आइपुगेको थिए ।

घर आउना साथ मैले दाइलाई राम्रोसँग चक्रिय ब्याज सिकाउन लगाए। म कुनै रिस्क लिन चाहन्‍न थिए। उनको अघि खुब राम्रो छाप छाड्न चाहन्थे। त्यो दिन फुटबल म्याच थियो गैरी गाउँसँग। केटाहरु लिन आए। मैले टाउको दुखेको झुटो बहाना बनाए। भरै केटाहरु हारेर आएछन् खुब गाली दिए। तर मलाई त त्यो गाली पनि क्या मिठो लागिरहेको थियो।  मैले राति १२ बजेसम्म हिसाबहरू सल्भ गरे। पि टि आर आई सब कण्ठ गरे यसरी नै पढेको भए क्लास टप्पर हुन्थ्यो होला नि। कहिले भोलि हुन्छ। निन्द्रा किन हो किन पटक्कै लागेन सायद मायाको ऐँठनले ।

बिहान पनि छिट्टै उठे सधैँ स्कुल अलि ढिलो जाने म त्यो दिन त सबेरैदेखि तयार हुँदै थिए। जाम भएको नरिवलको तेललाई हातले रगटेर निकाले अनि जुरेली जस्तै टिलिक्क कपाल कोरे। यत्रो बेर ऐनामा बसेको आमा विचार गर्दै हुनुहुन्थ्यो। आफूलाई खुब ह्यान्डसम भएको फिल गर्दै लागे स्कुलतिर।  त्यो दिन माया भन्दा पहिले स्कुल पुगेको थिए। आँखाहरु झ्यालबाट उनलाई नै खोज्दै थिए। परबाट देव्रे हातले किताबहरु  कम्मर मा बिसाएर बोकेकि अनि अर्को हातले साथीहरूसँग कुरा गर्दै, वा कति राम्रो नजारा यो पललाई एकैछिन टक्क रोक्न पाए नि हुने। अबदेखि त सधैं छिटो आउने हो मनमनै हाँस्दै सोचे। उनि क्लासमा प्रवेश गर्दा अनजान आँखाहरू झैँ मलाई नै खोज्दै थिइन्। जब देखिन् अलिकति लजाइन र मुस्कुराउँदै आफ्नो बेन्चमा बसिन्। दोस्रो पिरियड म्याथको थियो पहिलो ४५ मिनेट कटाउन मलाई एक जुनी नै लागेको थियो। मेरो धैर्यताको बाँध फुट्नै लागेको बेला बेल बज्यो। कसम! क्या खुसी भए, तर कता कता डर पनि लागिरहेको थियो। केही छैन त्यो  डर मा पनि क्या मज्जा थियो। सर जानुभयो अब म उनको बेन्चमा जानु थियो। हिम्मत जुटाए अनि साथीहरूको हौसलाले आँटिलो भएर उठेको के थिए म्याथको सर टुप्लुक्क आइपुग्‍नु भयो। ओ नो!! कत्रो विस्मात! त्यो मैले टेकेको जमिन नै भाँसियो कि जस्तै भान भयो। सबैजना गुड मर्निङ् सर भन्दै उठे। तर म थचक्क बसेछु। धन्‍न सरले देख्नु भएन। क्या रिस उठ्यो सर देखि। हिजो आउँदिन भन्‍ने अनि आइदिने। यस्तो सरप्राइज त कुनै टिचरले नदियोस् के। तर केही छैन म ब्रेक टाइममा भए नि सिकाउँछु भनेर मनलाई सान्तवना दिए। सरले ब्लाकबोर्डमा डस्टर नचाउदै बोलेको पहिलो वाक्यले मलाई चट्याङं हाने जस्तै भयो। “लु केटाकेटी हो हिजो र अस्ति पढेको चक्रिय ब्याज राम्रोसँग बुझेन होला। आज पनि त्यसैलाई राम्ररी बुझ्‍ने है ।” आम्मामा हो जुरुक्कै उठेर थपक्क टपिक अगाडि बढाउनुस् न। के तीन दिन यही पढाउनु भएको भन्‍न त क्या मन लागेको थियो सकिन।  टम एण्ड जेरीमा जेरीसँग हारेर स्याड मुडमा बसेको टम कै हालमा थिए म। अलि परबाट मायाले हेरिन उनीपनि खास्सै खुसी थिइनन्। प्रष्ट बुझिने झुटो मुस्कान दिइन् मैले त्यो पनि फर्काउन सकिन। त्यो दिनभरि मेरो हाल नुन खाएर झोक्राएको कुखुरा जस्तै भएको थियो। मेरो रातभरिको मेहनत पानीमा नै बग्यो।

न्याउरो अनुहार लिएर छुट्टी भएपछि घर फर्कँदै थिए। पछाडिबाट कसैले बोलायो। माया रहेछिन्

“आज तिमी किन स्याड?” उसले सोधिन्।

“हैन केही भएको छैन” मैले पनि भने। खै अब त डर लाज केही पनि लागेन उनीसँग बोल्न। कति हिम्मत है ममा। हामी कुरा गर्दै अलि परसम्म सँगै गयौ, जहाबाट हाम्रो घर जान छुट्टिने दोबाटो आउँदैन त्यहि सम्म।

यसरी हाम्रो मित्रताको सुरुवात भएको थियो। स्कुलमा जति पनि खाली समय हुन्थ्यो म मायासँगै हुने गर्थे। साथीहरु अलि भड्किए जस्तै थिए तर मलाई के। कुनै दिन माया स्कुल आइनन् भने मलाई पढ्न त के स्कुल बस्‍न पनि मन लाग्दैन थियो।

स्कुल घर अनि माया यसरी नै समय बित्दै गर्दा एस.एल.सि. एक्जाम पनि नजिकियो। यो बीचको समयमा मैले मायालाई नजिकबाट चिन्‍ने मौका पाए। उनी साधारण शान्त स्वभावकी थिइन्। घर पहाड। अनि कक्षा ७ बाट यता दिदीकोमा बसेर पढेकी। आमा सानै उमेरमा बित्‍नु भएको रहेछ अनि बुबा र सानी आमा र एकजना भाइ पहाडमा। यो समयमा हामीबीच घनिष्ठ आत्मयता बनेको थियो तर कहिले पनि आफ्नो भावना उनलाई सुनाउन सकिन। हुन त मैले पनि उनको आँखामा मेरो लागि धेरै माया नदेखेको त कहाँ हो र तर खै हाम्रो सम्बन्ध अघि बढ्न नै सकेन।

  एक्जामको अन्तिम दिन एक्जाम सकेर म चाँडै घर आउनु थियो। मायासँग भेट्न पाइन। त्यसको दुई दिनपछि हामी सबैको स्कुलमा भेट्ने योजना थियो। अनि मेरो थप योजना कि मायालाई मनको सबै कुरा भन्‍ने। थाहा छ म प्रत्यक्ष उसलाई आफ्नो कुरा भन्‍न सक्दिन त्यसैले दुई दिन लगाएर एउटा चिठी लेखेको थिए, अझ भनम लभ लेटर। त्यसबेला हाम्रोमा नोकियाको मोबाइल थियो त्यो सर्पको गेम खेल्नेवाला तर उनीसँग फोन थिएन त्यसैले साधारण खबरको लागि हामी कहिलेकाहीँ चिठी लेख्‍ने गर्थिम।

 स्कुलमा साथीहरु भेट्ने त फगत बहाना हो। मलाई त आज प्रपोज गर्नु थियो, मायालाई। निलो चेक सर्ट कपडाको पेनभित्र घुसारेर लगाए अनि ओके लेखेको बेल्टले त्यसलाई कसिदिए। पोहोर दशैँमा किनेको गोलस्टारको जुत्ता पनि धोएर राखेको थिए। ओहो! यो सब लगाउँदा त कति हिरो देखिएको म। ए! अ दाइको क्यासियोको चेनवाला घडी त्यो कहाँ छोड्थे र। 

कोही म त फेल हुन्छु होला भन्दै थिए, त कोही मेरो ६०% त कट्छ भन्दै। कोही अब कुन क्याम्पस पढ्ने भन्दै थिए, त कोही खाडीको सपना बुन्दै। अनि म मायाको बाटो हेर्दै। सरहरु पालैपालो आउनुभयो जानुभयो तर माया आइनन्।

“आदित्य तिमीलाई मायाले जाने बेला भेटी?” त्यो सरिताको आवाज थियो।

“अह कहाँ गई माया?” मैले सङ्‍कोच मान्दै प्रतिप्रश्‍न गरे।

“माया त आज बिहान ११:३० को गाडीमा पहाड जाने रे नि सायद सधैंको लागि। अस्ति एक्जाम सकेको दिन तिमीलाई कति खोज्दै थिइन्।”

सरिताको कुरा सुनेर म सुन्य भए। लाग्छ समय नै मेरो लागि रोकियो। एकदिन उनले भनेकी थिइन् ‘अरुको घरमा बसेर पढ्नु धेरै गाह्रो हुने रहेछ म त यहाँबाट गए भने फर्केर कहिले आउँदिन।’ यति भन्दै गर्दा उस्को आँखाबाट आँसु खसेको बिचार गरेको थिए। उसको यस्ता कुराहरूमा म अक्सर  निशब्द  हुने गर्थे। घडी हेरे ११ः१० भएछ यानिकि बस छुट्न अझै २० मिनेट बाँकी छ। राम सर क्लासमा नै  हुनुहुन्थ्यो। म जुरुक्क उठे र सिधै ढोकातिर होमिए। मन खै साह्रै डराइरहेको थियो। जिन्दगीदेखि केही सदाको लागि छुटे जस्तै ।

 मलाई २५ मिनेट लाग्यो बस स्टेन नजिक आइपुग्‍न। अलि पर एकजना छोरी मान्छेको आकृति बसको प्रतिक्षामा बसेको देखे। त्यो दृश्य धमिलो थियो तर म स्पष्ट थिए। उनी माया नै हुन्। म रोकिए घुँडामा दुई हात बिसाएर लामो सास फेरे र फेरि दौडिन के लागेको थिए बस त्यहाँ आएर माया छेकिइन्।  मैले भगवानसँग प्रार्थना गर्न लागे। केही बेरमा बस त्यहाँबाट हिँड्यो। भगवान सायद मेरो पक्षमा थिएन मायाको आकृति पनि त्यही बससँगै हराएर गयो।

म तेजले दौडँदै त्यहाँ पुग्दा त्यो बस र माया धेरै टाढा लगभग आँखाबाटै ओझेल भइसकेको थियो। मन कति भारी भयो, पाइला घरतिर फर्काए मैले मायालाई दोष दिए। किन एकपल्ट नभेटी गयौ? मैले सरितालाई दोष दिए किन पहिले नै भनेनौ? अन्तत मैले आफैलाई दोष दिए किन ढिलो गरिस् उसलाई भन्‍न? के अब हाम्रो भेट कहिले नहोला? जब यो सोच आउँथ्यो छाति भारि भएर  उकुस मुकुस हुन्थ्यो। 

मेरो मनको सम्पूर्ण भावनाहरुलाई जुन कागजको पानामा सार्थकता दिएको थिए त्यो पाना पनि कति गरौ, लाग्यो कति भारी। यो मायालाई दिन सकिन यसलाई च्यात्‍ने या फ्याल्ने हिम्मत पनि आएन।

सहि समयको पर्खाइमा बसेर खराब निर्णय गरेछु मैले। मेरो प्रेम त्यति कमजोर त थिएन। प्रेमको लागि त्यो जुनुन त्यो पागलपन छुट्टै थियो। कसो बिरामी आमालाई सम्झिएर पाइला घर फर्काए नत्र कोरिने थियो एउटा पागलप्रेमीको कथा जो बस पछ्याउदै हिड्यो कहिल्यै नपुग्‍ने गन्तव्यमा भनेर।

घरमा आइपुग्दा बहिनीको हातमा एउटा सानो चिठी पाए मायाले छाडेकी रहेछ। 

‘आदि तिमी रिसाउँदा नि बच्चा जस्तै देखिन्छ। तिम्रो नाकको प्वालहरु हल्लिन्छ। र आँखा कति पल्ट झिम्कन्छ ।श्याम सरले मलाई गाली गर्नुहुँदा तिम्रो अनुहार बिचारेकि थिए। अहिले पनि सायद नाक फुलाउँदै छौ होला। आदि सरी…। तिमीलाई नभेटी जान सक्नु मेरो लागि पनि चुनौती नै थियो र तिमीलाई भेटेर छुट्टिन सक्ने सामर्थ पनि ममा थिएन। हो मैले तिमीलाई भेटिन यो जान्दा जान्दै पनि कि सायद अब हाम्रो भेट कहिले हुने छैन । यो मेरो जिन्दगी कै सबैभन्दा दुःखपूर्ण फैसला हुनेछ आदि। र म सायद जीवनभरि पछुताउनेछु। कि एकपल्ट पनि तिमीलाई नभेटी म आए। तिमी कर्ममा विश्वास गर्छौ अनि म भाग्यले ठगिएकी केटी । हजारौं असमानताका पर्खालहरु भएपनि हामी कति घनिष्ठ भयौ है ? तिमीसँग बिताएका दिनहरु मेरो जीवनकै सबैभन्दा सुन्दर दिन थिए। र रहनेछ पनि किनकि मलाई लाग्दैन अब फेरि म त्यति नै खुसी हुनेछु भनेर। टिफिनमा एकान्त खोज्दै हामी हिँडेको दिनहरू, पिरो नखाने तिमी मेरो लागि पिरो चटपटे आँसुसरी पिरो भएको छैन भन्दै खाएको दिनहरु। यि सबै भुलाउन सायद यो जुनी नै खर्चनुपर्छ मैले । तिम्रो सम्झना नि यी हावा जस्तै हो यसलाई देखेर बयान गर्न सकिन्‍न बस महसुस गर्न सकिन्छ र जसरी हावा सदा मेरो वरिपरि रहन्छ त्यसरी नै तिम्रो यादहरु सदा मेरो समीप हुनेछ।  स्वार्थी नभन है ल  म आफै पनि तड्पिएको थिए तिम्रो एक झलक पाउनलाई तर कहिलेकाहीँ मन र मस्तिष्कको युद्धमा मस्तिष्कको विजय हुँदा यस्तो कदम चलाइँदो रहेछ। म स्वीकार गर्छु जीवनमा दुर्दशाको कुनै अन्त्य छैन। धेरै पल्ट बाँचेरै मरेकी छु। घरमा बिहेको कुरा हुँदैछ। सायद यो अर्को दुर्दशा हुनुपर्छ। म जुन समाजमा जन्मिए त्यहाँ अझै पनि छोरीले आफ्नो खुसी गर्न पाउने अधिकार दिएको छैन। मैले फेरि कहिले सम्पर्क गरिन भने तिमीले बुझ्नु ल। आफ्नो ख्याल राख्नु । तिमीले धेरै प्रगति गरेको सुन्न पाउँ।  माया


  पन्ध्र वर्ष पुरा भएछ मैले एस.एल.सी. दिएको। अनि मायालाई अन्तिम पल्ट देखेको। मायाको चिठीलाई ज्यामिटि बक्समा राखी एउटा सन्दुक भित्र बन्द गरिदिएको थिए। आज त्यही सन्दुक खोलेछु। यो सन्दुक सन्दुक मात्र नभई मेरो यादहरुको एउटा संग्रहालय हो। जुन संग्रहालयमा मायाको अविस्मरणीय पलहरु कैद भएको छ।

 समय बदलियो अनि परिस्थिति पनि 

 म बदलिए अनि सायद उनी पनि

 तर उस्तै छ

 आत्मीयता र याद अनि प्रेम पनि।

एक वर्षसम्म लाग्थ्यो उनी फर्कि आउनेछिन, दोस्रो वर्ष लाग्थ्यो अचानक कतै भेट हुनेछ, तेस्रो वर्ष लाग्यो उस्लाई खोज्‍न निस्किम। तर सकिन। त्यसपछिका वर्षहरु घरको जिम्मेवारिले यसरि थिच्यो कि आफ्ना सारा चाहनाहरु पन्छ्याउन बाध्य भए। समयको गति त त्यहि होला तर कहिले काहि लाग्छ समय कत्ति छिटो बित्यो।  हिजो अस्ती जस्तो लाग्छ एस.एल.सि. दिएको, माया सङ्‍ग हिडेको। उस्को मुस्कान अझै याद छ मलाई। उस्को स्वर। मैले देख्‍ने सपनामा त्यहि माया हुन्छिन।

  माया कहिले फर्केर आइनन्। हुन त मैले पनि कहिले प्रतिक्षा गरिन। अक्सर संयोगले भेटिएका मानिसहरु संयोगले नै छुटेर जान्छन्। कहिलेकाहीँ सम्झन्छु कहाँ होलिन के गर्दै होलिन? उसले पनि मैले जसरी नै याद गर्दै होलिन कि..? उनी हावा जस्तै बनेर आइन्। मलाई मायाको स्पर्श गरिन् र छाडेर कतै हराइन।

शुभम्

– बिशाल लिम्बु


Add a Comment

Your email address will not be published. Required fields are marked *