भूमिका
जब हिउँद सुरु हुन्छ र चिसो रसिया अझ चिसो हुन्छ। तब हजारौ साइबेरियन पक्षीहरु आफूलाई बचाइ राख्न रसिया छोडेर नेपाल,भारत,पाकिस्तान तथा दक्षिण कोरिया सम्म पुग्ने गर्छन। केहि युरोप तथा अफ्रिकि मुलुक सम्म पनि पुग्ने गर्छन। अन्तत जब हिउँद सकिएर गर्मिले आफ्नो जवानी टेक्न थाल्छ, तब ती पक्षीहरु फेरि आफ्नै घर फर्किएर जान्छन। तर कहानी यति नै सुखद् भने रहन्न, हजारौको हुलमा आएका ती पक्षीहरु मध्ये सयौ यतै मर्छन् या मारिन्छन्। यि पक्षीहरु र हामी नेपालीहरुमा खास्सै फरक छैन, यिनिहरुपनि बाध्यतावस टाढा-टाढा पुग्ने गर्छन जसरी हामी परदेश पुग्ने गर्छौ। यो कहानी यस्तै पक्षी जस्तै वाध्यताले परदेशीएको एक नेपालीको।
जिजीविषा

ट्रेनिङ् सेन्टरको तिन दिने बसाईं पछि हामी चार जनालाई कम्पनितिर लगियो। मौसम सफा थियो, र वरपरको वातावरण पनि उस्तै। एउटा डब्बा आकारको घरमा हामी पुग्यौ, त्यो हाम्रो होस्टल रहेछ। अलि पर एउटा कारखानाको टुप्पोबाट धुँवा बुरुरु निस्कदै थियो र अलि माथि पुगेर कतै हराउदै थियो। नजिकै सानो रुखको फेदमा एउटा ख्याउटे कुकुर पालेको रहेछ, ‘खानुलाई होला’ सम्झेर मैले मुख बिगारे। भोलि आइतबार बजार गर्न लैजाने भन्दै हामीलाई ल्याउने बुढो कुकुर बाधेँको घरतिर लाग्यो। चार घण्टा गाडिको यात्रामा सँगैको बुढोलाई आफू अनुशासित छु भन्ने देखाउन चुरोटको कड्किलाई केटाहरुले दबाएका थिए,बुढो के निस्केको दुइजना साथीहरु चुरोट सल्काउन बाहिर लागे।
निक्कै समयपछि आए केटाहरु, हामीले दुइवटा कोठामा चारवटा बेड तयार पारिसकेका थियौ। “तलतिर कम्पनिमा पनि तिनजना डाम्नाहरु रछन् नि” निराजनले भन्यो। आहा! यो परदेशमा नेपालीहरु नजिकैछन भन्ने कुराले अति खुसी दिने रहेछ। “यहाँ त हामीभन्दा पहिले चारजना नेपाली थिएछन् एकले आत्महत्या गरेछ।” पुन्निलाल को कुरा सुनेर म झस्किए मानौँ मेरो अतितले मलाई फेरि झस्काउँदै छ। ‘बाँकी तीनजनाले पनि कम्पनी छोडेर गयो रे एक त पागल झैँ भाथियो रे’ यस्तै के के भन्दै थियो ऊ। म सोच्दै छु आफ्नो शरीर मार्न कति हिम्मत चाहिँदो हो? अनि मरेर जानेलाई के थाहा कति दुख झेल्दै होला उस्को आफन्तहरुले। म आफ्नो बेडमा आए तर मेरो विगतको नमिठो सम्झनाले मेरो निदाउने सबै प्रयत्न व्यर्थै जाँदै थियो।
६ जुन २०१४ थाइल्याण्डको बाटो हुँदै कोरियासम्मको यात्रा। यात्रा नभनौ सङ्घर्ष रोजेर हिँडेको दिन। घरबाट आमाबुवा, कान्छी र छोरी बिदा गर्न एयरपोर्ट आएका छन्। एयरपोर्टमा बिदा गर्न आउनेहरूको पनि आ-आफ्नै श्रेणी हुने रहेछ। खाडि मलेसिया जाने अक्सर आफू एक्लै हुन्थे, जस्तै त्यहाँ कुनामा बसिरहेका छन् टुहुरा जसरी केही भाइहरू। कोरिया जापान जानेहरूको केही आफन्त हुने रहेछन्, जस्तो आज मेरो छ। अनि अमेरिका युरोप जानेहरूको जन्ती जस्तै भीड हुने रहेछ। जुन मेरो ठिक अघि हल्ला गर्दैछन्। यो एकै ठाउँबाट छुटिदै छन सबै, दुःख केही फरक होला तर सपना एउटै।
लामो सास फेर्छु। अँगालोबाट पाँच वर्षकी छोरी छोड्न नै मान्दैन। आमा एकातिर आँसु पुस्दै, बाबा अर्कोतिर, कान्छीको अवस्थाले मुटु नै निचोडिए जस्तो भइरहेको छ। परदेशिन लागेकाहरुलाई सायद यो सबैभन्दा मार्मिक पल हुनुपर्छ “कान्छी नरोउन म सधैंभरि उतै बस्ने होइन नि दुई वर्षपछि त छुट्टीमा आइहाल्छु।” म आफू पुरुष हुनुको घमण्डका साथ भन्छु तर मन मनै टुक्रिएर।
सबैजना प्रवेश गरिसकेछ ढोकातिर हेर्छु,फेरि अँगालोको छोरी स्पर्श गर्छु। “अब म जान्छु आमाबुबा नानी सम्हाल्नु तिमीले।” यति बोलिसक्दा आँखाबाट तातो स्पर्श गर्दै आँसु छोरीको ढाडमा चुहिन्छ। बुबाले बुझ्नुभएछ छोरा अब जानुपर्छ भनेर नातिनी आफूतिर लिन खोज्नुभयो। यति सानी छोरीले आफूसँग भएभरको बलले मलाई अँगाल्दै भन्छे “नाई बाबालाई जान दिन्न।” कसो गरी छुटाउँछु आफूबाट। ऊ लछारिन्छे पछाडिन्छे ‘बाबा मलाई छाडी नजानु न!’ भन्छे, तर मलाई त जानु छ उसकै सुन्दर भविष्यको लागि। मैले मन कठोर बनाए लगेज लिएर अघि बढ्छु। खुट्टा पछाडि नै तानिए झै हुन्छ। छोरी त्यँही भुइमा लडेर रुँदै छिन्। म फर्कि हेर्दिन भन्दै छिटो छिटो हिँड्छु। तर मन कहाँ मान्छ र एकपल्ट त हेर्छु भनि फर्किन्छु। त्यो वियोगको तस्बिर मनमा लिन्छु। छोरीलाई एकपल्ट माया गरेर आउँ कि जस्तो लाग्छ, बाबाआमालाई एकपल्ट अँगालो हालेर आउँकी जस्तो लाग्छ, कान्छीलाई शिरमा मायाको स्पर्श दिएर आउँकी जस्तो लाग्छ। तर म कमजोर हुनु पनि त हुन्न।
थाइएयरको अन्तिमतिर सिट थियो, प्लेनमा एउटा रमाइलो घटना भयो। थाइल्याण्डबाट ट्रान्जिट भएर कोरियातिर उडेको बेला थियो। सायद टोइलेटको ढोका खोल्न जानिन धन्न एउटी सुन्दरीले खोलिदिइ धन्यवाद छ उनीलाई। आफू हलुका भएपछि पानी बगाउने फ्लस देखिन, नखोजेको पनि होइन अब भेटिन त के गरम। ह्या छोड्दे! अब ढोका खोल्छु, खुलिँदैन त बडो संघर्ष गर्नुपर्यो। बल्ल खोलियो। म निस्किए तर मनमा थाहा छ मैले पानी बगाएको छैन। चोर जसरी भाग्नै के लाग्दै थिए “एक्सक्यूज मी सर! केन यू फ्लस इट। फ्लसर इज औभर दिएर।” मारेन त! मेरो लाजले सीमा पर्खाल के के हुन्छ सबै नाग्यो। यसो हेरे निलो बटम रहेछ। थिचे अनि सिर झुकाएर भागे। सायद ‘थ्याँङ्क्यू’ भन्दै थिइन्। तर यस्तो ‘थ्याँङ्क्यू’ त शत्रुले पनि सुन्न नपरोस्। के अब फेरि म टोइलेट जान्छु होला?
मेरो काम एउटा डिपार्टमा तयार भएको सामान अर्को डिपार्टमा ओसार्नु थियो। छिगेछा भनिने फोरक्लिप गाडी सिक्न मलाई चार महिना लाग्यो। कोरियनहरु बच्चा जस्तै हुने रहेछन, सानो कुरामा धेरै रिसाउने अनि अलिकति चकलेटमा मख्ख पर्ने। चकलेटको भुखा छन यिनिहरु। चकलेट चाहिँ तारिफ है।
समय कति चाँडै बितेर जाने रहेछ सुरुको एक वर्ष काट्न मुस्किल बाँकी समय त पलभरमै गएजस्तो लाग्ने। १५ सेप्टेम्बर २०१६ यानिकि पर्सि छुट्टीमा घर जाँदैछु। यो दिनको लागि मैले दुई वर्ष दुई महिना कुरेको छु। भोलिबाट कोरियाको ठूलो चाँड छुसकको पाँच दिन बिदा भएकोले आज हामी साथीभाई अबेर रातसम्म बस्यौँ। यहाँ चारजनामा हल नमिल्ने म एउटा खै के बुझेर हो केटाहरुले रेडबुल ल्याइदिएका छन्, प्राय जुस हुन्थ्यो मेरोमा। उनीहरुले एक कार्टुन बियर रिताइसके।
बिहानै उठेर म कम्पनीतिर लागे। ६ घण्टा जतिमा सिध्याइने थोरै काम थियो म एक्लैको। भोलि नेपाल जाने मान्छे काम नगरेको भए हुने तर साहुको विश्वासिलो कामदार भएकोले मैले नाई भन्नै सकिन। केटाहरूचाहिँ साथी भेट्न जाने भन्दै थिए। यो ठूलो गाडीले सामान ओसारे भने छिट्टै काम सकाउनेछु। केही खराबीको कारण त्यसलाई नचलाउने आदेश थियो। तर मान्छे हतारमा छोटकरी नै रुचाउँछन्। काम गरिरहँदा मेरो पूरा ध्यान भोलिको दिनमा थियो। कान्छी आउँदै छ एयरपोर्ट कति धेरै कुरा गर्नु छ, कति धेरै माया गर्नुछ।आमाबुबा छोरी साथीभाई गाउँघर यो सब मनमा धेरै चलिरह्यो। कुनै पनि परदेशीलाई भोलि घर जाँदैछु भन्दा आजको दिन कटाउन धेरै मुस्किल हुने रहेछ। कुनै समयमा हाम्रो भौतिक शरीर आफूसँग हुन्छ र अवचेतन मन कतै टाढा जसले गर्दा आफ्नो चेतन मन पनि मनव्रत बसेको हुन्छ। सामान राख्ने क्रममा हाइड्रोलिक माथि नै अड्कियो म गाडीबाट ओर्लिए र त्यहाँ पुगे जहाँ सधैँ बिग्रन्थ्यो चेनमा सधैंझैँ अड्किने नट झिक्ने बित्तिकै मैले सम्झिए मेरो माथि १३०० केजीको सामान छ। जुन यो नट झिक्ने बित्तिकै मुनि खस्न सक्छ। म त्यहाँबाट हत्तपत्त भागे। तर मेरो दुर्भाग्य मेरो पुरै म भाग्न सकिन। खै कति बेरको बेहोसपछि होस आयो। ढाडदेखि माथि र एउटा हात त्यो पनि आधा मात्र बाहिर र बाँकी त्यो सामानले थिचिएको। टाउको जोडले पछारिएछ जसले गर्दा म बेहोस भए, त्यहाँबाट रगत बगेकोमा चारपाँच जोर झिँगा पार्टी गर्दै रहेछ। ‘साला काँचो रगतमा पार्टी गर्ने मक्खीहरू’ मन मनै गाली गर्न नि भ्याए। अब के गर्ने? दुखाई कस्तो अर्कै खालको थियो यो। भनिन्छ नि एकैपल्ट धेरै ठाउँ चोट लाग्यो भने अरु सबै दुखाई भुलेर गहिरो चोटको मात्र महसुस हुन्छ भनेर। हात भाँचियो खुट्टा भाँचियो तर यो सब दुखाई मैले महसुस गर्न छाडिसके। किनकि एउटा मृत्यु नामले चिनिने डरको दुखाई मनभित्र पसिसकेको छ। जुन यो शारिरीक दुखाई भन्दा गहिरो छ। मैले सहयोगको लागि कति चिच्याए तर जति चिच्याउँछु आफ्नै शरीरमा दुखाई बढ्छ । सबै बिदा मनाउन कतै लागिसके। त्यहाँ अलि परको कम्पनीमा कुकुर भुक्दैछ। सायद थाहा पायो त्यसले म यहाँ ढलेको, कि देख्यो त्यसले मेरो आत्मा भड्केको। सोच्छु यी जनावरको भाषा हामीले बुझ्न सकेको भए सायद त्यो कुकुरले त्यहाँ भएकाहरुलाई सुनाइदिन्थे, कि त्यहाँ एउटा मनुखे चिच्याउँदैछ मर्न लाग्यो होला भनेर। र मेरो मद्दतको लागि कोही आउने थिए तर धिक्कार छ भगवान मान्छेलाई जनावरको भाषा बुझ्ने बनाएनौ। कान्छी गाउँबाट काठमाडौँको लागि हिँडिसकि होली। भोलि एयरपोर्टमा आएर धेरै बेर मेरो बाटो कुर्दै बस्लिन्। फोन पनि नगरी म कतैबाट तर्साउँदै अघि आइपुग्छु भन्दै रातभरि त्यही पर्खीदि हुन। हे भगवान! रुममा कोही केटाहरु बाहिर नगएर बसेका होलान् कि र म नफर्किएको देखेर खोज्दै आउलान् कि। मन न हो खै के के सोच्छु। साला यो खटिरा कम्पनीमा एउटा सिसी क्यामेरा पनि छैन। फेरि झिँगा त मलाई हेपेर मेरो चोटभरि डान्स गर्न थालेछन्। म कुइनोबाट बाहिर निस्केको आधा हातले तिनीहरुलाई तर्साउने असफल प्रयास गर्छु। दाहिने हात त मुनि अड्किएको छ जो यतिबेला आफै हल्लिन्छ, लाग्छ ‘पख झिगा तँलाई मैले जानेको छु’ भन्दैछ। जे होला होला बरु आधा शरीर मात्र भएपनि बाहिर आओस् भन्ने सोचले बल लगाएर बाहिरिने कोसिस गरे। म बाहिर आउन सकिन बरु निधारबाट आँखा हुँदै तातो रगत बाहिर आयो म फेरि अचेत भए।
थाहा छैन कति समय कति घण्टा या कति दिनपछि मेरो होस खुल्यो समय त बस नाम मात्र रह्यो। पानी नपिउँदा घाँटी सुकेर सास पनि बेलाबेला अड्किँदो रहेछ। मानौँ मुनिबाट धकिलिँदैछ गिन्तीमा अब यति बाँकी छ भन्दै। मुखबाट थुक पनि सकिने रहेछ हावालाई मुखमा लिएर निल्ने कोसिस गर्छु तर रुद्रघण्टि मात्र तलमाथि गरेको आवाज सुनिन्छ। घाँटी बेसरी दुख्छ। ओठ फुटेर खस्रो भएछ। पानी नभएर फाटेको धानबारी जस्तै। यो बेला मैले फालेको जुसहरूको याद आउँछ। त्यो धाराको पानीको याद आउँछ। अनि ठूलाठूला खोलाको जुन मैले अहिले भेटे सुकाउन सक्छु सायद। नाक बन्द भएपनि केही सिनो जस्तै गन्ध आइरहेको छ। थिचिएको भाग पुरै मरेछ। धेरै कोसिसले पनि हल्लिँदैन। मानौँ अंशबण्डा गरेर आफ्नै शरीरबाट छुट्टियो त्यो। मैले सहयोगको लागि फेरि कराउन खोजे। तर मुख मात्र हल्लियो। भित्रबाट खै केले रोक्यो आवाज नै आएन। आफ्नो अवस्था देखि हाँस्न पो मन लाग्यो। यो सब मेरै गल्तीले भयो। भगवानको फिल्महरूमा सानो छँदा देखेको थिए। मनदेखि पुकार गर्दा भगवान प्रकट हुन्छन्। मैले कति पुकार गरे तर सायद भगवान अन्त्यै व्यस्त हुनुहुन्छ। जो म भन्दा अप्ठ्यारोमा परेका छन्। भोक र प्यास यति लाग्यो कि आफ्नै शरीरको मासु खान सक्छु तर विडम्बना मेरो मुख नजिक आफ्नै शरीर पनि छैन। रगत बग्न रोकिएछ नत्र म अब त्यसलाई पनि छाड्ने अवस्थामा रहिन। झिँगालाई सम्झिए व्यर्थै गाली गरेछु।
परबाट केटाहरु दाइ भन्दै दौडिँदै आउँदै गरेको देखे। मेरो हराएको आशा फर्कियो। खुसीले हाँस्दा ओठ च्यातिएर मर्ने गरी दुख्यो तर मैले वास्ता गरिन। मुस्कुराउन छाडिन। सोचे सारा शरीर नचलोस् म जिउँदो रहन सकुँ। केटाहरुले दाइ भन्दै बोलाएको आवाज नजिक नजिक आयो। आवाज जति जति नजिक आउदै थियो मेरो धड्कन त्यति त्यति वेगले धड्कदै थियो। केटाहरुको आवाज मेरो एकदमै नजिकै आयो र हावामा कतै बिलायो। यो इलुजन भएको रहेछ। यस्तो अप्ठ्यारो बेलामा इलुजन हुन्छ भनेर पढेको थिए, आज अनुभव गरे। सारा आशा छिनभरमै निराशामा परिणत भयो। जिउने सपना अधुरै रहला जस्तो भयो। म धेरै कम रुने मान्छे। आँसु त सायदै छैन। अब बल्ल थाहा पाए छ आँखाले निस्की यही हो बेला। धेरै रोए, रुँदा पनि ध्यान दिएर रुनुपर्ने। घाटीमा नै सास अड्किएर परानै जाला जस्तो हुने। रुँदा रुँदै केही आँसु ओठमा पर्यो। मैले जिब्रो निकालेर वरपर भ्याएसम्म आँसु सोरे अनि कहाँबाट चमत्कार भयो जिब्रोमा केही थुक पनि जम्मा भयो। त्यो मर्न लागेको सयपत्री फूलमा पानी दिएर फेरि जवानी फर्की आए जस्तै एउटा आशा केहीबेर अझै बाँच्ने पलायो। मान्छे कति काँतर हुने रहेछ जीवित हुँदा बडो शानसँग मर्न डर लाग्दैन भन्ने अहिले एक मुठ्ठि शासको आसमा रमाउदै थिए।
अलि परबाट छोरी ‘बाबा’ भन्दै आउँदै गरेको देख्छु। त्यही मैले अस्ति किनेर ल्याएको सेतो जामा लगाएर। ठिक नहोला कि भनेर सोचेको थिए ठिक्क भएछ। छोरी नजिक आइन् र मेरो शिरमा आफ्नो कोमल हात राखिन्। मेरो भएभरको सास एकैचोटि बाहिर आए जस्तै लाग्यो। फेरि म अचेत भए। होसमा आउँदा म खुल्ला थिए पुरै हावा जस्तै हलुका थियो शरिर। यहाँ मान्छेहरु धेरै भेला भएछन तर सबैले मास्क लगाएका थिए। केटाहरु पुलिससँग थिए एउटाले भन्दै थियो, “खै! घर परिवारसँग खासै कुरा गरेको थिएन घर फर्कने बेला उति खुसी पनि थिएन तर यस्तो गर्छ होला भनेर सोचेका थिएनौँ।” के भन्दैछौ तिमीहरु मैले चिच्याई चिच्याई उनीहरुलाई भने। तर मेरो कुरा सुनिएन। मलाई अवस्था बुझ्न केहि समय लाग्यो। अलि पर देखे एउटा लास जुन निर्जीव मुढा जसरी ढलिरहेछ म नजिक गए। त्यो म नै थिए। अनि म को हुँ? आत्महत्याको कुरा हुँदै रहेछ यहाँ। हेर्दा त्यस्तै पनि छ तर म होइन भन्दै चिच्याएको कोही सुन्दैन। जब बजारतिर जग्गा किनियो मेरो बुवाको छाती गर्वले झन चौडा भएको छ रे। छोराको गुणगान गाउँदै हिँड्नुहुन्छ रे। छोराले आत्महत्या गर्यो भन्ने सुनेर बुबाको मनमा कति चोट पुग्छ होला। आमा त केही दिन अचेत हुनुहुनेछ। मेरी कान्छीलाई अब समाजले कस्तो नजरले हेर्ला। मेरी छोरीको भविष्य कस्तो होला।
आत्महत्याको नाउमा यहाँ प्रत्येक वर्ष सयौँ बिदेशी मर्दै छन। तर के ति साँचै आत्महत्या नै थिए या आत्महत्या जस्तै बनाइयो? थाहा छैन। मेरो शरीरलाई नेपाल लैजान सम्भव छैन रे। यहीँ डाँडाको फेदीमा पुरियो। अनि यतिका वर्षदेखि यहीँ अड्किएर भड्किरहेको छु। के म अब सदाको लागि यसरी नै भड्किनेछु? के म एकपल्ट पनि मेरो परिवारलाई देख्न पाउँदिन? यो विचारले अक्सर मलाई रुवाउने गर्छ। सोच्छु म पनि त्यो बादल जस्तै बन्न सकुँ, र यी क्षितिज पारि समुन्द्र तरेर आफ्नै देश आफ्नै गाउँ आफ्नै घर फर्किउ र कार्तिक मंसिरको बेमौसमी झरी बनेर बर्सिदियौँ। अनि सदा त्यहीँ रहिरहु आफ्नोहरूको माझ, आफ्नोपनको साथ।
अर्को कोठाबाट आएको केटाहरूको आवाजले म झस्किए। उनीहरु आत्तिएका थिए। डरले कापेको मैले विचारे। के भयो भनी सोध्दा कृष्णले भन्यो “दाई हामी तीनजनाले एउटै सपना देख्यौ। यी यो मान्छेको” उनीहरुले मोबाइलमा फोटो देखायो। जुन मान्छेलाई मैले पनि भर्खरै सपनामा देखेको थिए।
।।।शुभम्।।।
– बिशाल लिम्बु