बुबाको मुख हेर्ने दिन
कुनै कुराको अभावले धेरै दुःख दिन्छ या केही प्राप्तिको चाहनाले बढी सताउछ?
त्यसो त मानिसका इच्छा चाहनाहरुको कुनै परिधि छैन, यो अनन्त सम्म थपि नै रहन्छ। त्यसवेला मेरो इच्छा चाहना जे नाम दिए पनि एउटै थियो, साइकल कुदाउने। गाउँमा मेरो बाल्यकालको साथी सन्जितसँग थियो साइकल, उसैले कुदाउन सिकाउदै थियो। जति जोडले पैडल मारेपनि स्पिड कुदेन साइकल। खै किन हो हेण्डल बटारे बाइकको जसरी अनि बल्ल कुद्न थाल्यो, फेरि कस्सेर बटारे। आमाले ४,५ चोटि चप्पलले हानेपछि होस आयो, सपना देख्दै रहेछु। बिउझिँदा त बाउ को डाढमा चढेर कान बटार्दै रहेछु।
भर्खर-भर्खरै गाउँमा आफ्नो स्वामित्व बिस्तार गर्दै थियो ‘ड्याडि’ शब्दले, त्यसैको उपच हुनुपर्छ मेरा समकालीन साथीहरु बुबालाई ड्याडि भनेर सम्बोधन गर्दै थिए। कोही पापा वा बाबा पनि भन्थे तर मैले ‘बाउ’ बाहेक अरु नामले सम्बोधन गर्न सकिन। भनम् ‘बाउ’ सम्बोधनमा जुन भाव या अनुक्रिया छ त्यो अन्य शब्दमा भेटिन।
बाउ सानै हुँदा बोजु बित्नु भएछ। कान्छी आमाले कहिले खाना नै नदिने रे, गोठमा सुत्नु पर्ने। तरुल खोजी खाएर बाँचेको हो भन्नुहुन्थ्यो। पछि असह्य भएपछि हिडेर नै तराई झर्नु भएछ। तराईमा पनि सुख त कहाँ थियो र। कति ठाउँ हली बस्नु पर्यो रे, कति ठाउँ सिकर्मी गर्नुपर्यो रे। त्यसै बिचमा बिहे गर्नु भएछ तर केही वर्ष पछि श्रीमती बित्नुभएछ। त्यसपछि अलि पाको उमेरमा दोस्रो विहे गर्नुभयो, र दोस्रो विवाह पछिको सन्तान हो म।
उमेरमा धेरै अन्तर भएपनि बाउ र म अति घनिष्ठ थियौ। म १६ वर्षको हुँदा सम्म बाउसँगै सुत्ने गर्थे। पसिना र सुर्तीको गन्ध आएपनि बाउलाई खुट्टा बोकाएर सुत्नुको मज्जानै बेग्लै। पछि “त गन्हाउन थालिस” भनेर छुट्टै सुत्न थाल्नु भयो तैपनि कहिलेकाहीँ पुगिहाल्थे खुट्टा बोकाउन।
एकरात सिरानी र सिरकलाई मान्छे जस्तै बनाएर तरुनी भेट्न गए, फर्कदा ५ बजिसकेको थियो कोठामा बाउ छिरेर कित्ली झिकिसक्नु भएछ। आमालाई भन्देलान भन्ने कत्रो पीर। आमाले थाहा पाउनु भएको भए पहिले ढाडमा सिर्कुनाको डाम बसाल्नु हुन्थ्यो अनि सोध्नुहुन्थ्यो “का मुन्टेको थिस् ?” धन्न पोल सार्नु भएन। दिउँसो सुटुक्क भन्नु भो “गुडियालाई भेटेर आइस् ?”
गोमा दिदी आसाम गुवाहटि बस्नुहुन्थ्यो, बाउ र म त्यहाँ पुगेको बेला कामख्या मन्दिर दर्शनको लागि गयौ। हजारौको सङ्ख्यामा हुने रहेछ श्रद्धालुहरु। भेटि पैसाको त स-सानो पहाड नै थियो। मन्दिरमा त्यति भिड नभएपनि प्रवेश गर्ने र निस्कने बेला बढो सकस हुने रहेछ। कतै नहराइयोस भनेर च्याप्प समाइरहनु भा थियो बाउले मेरो हात, तर निस्कने क्रममा ठेलठालमा परेर हामी छुट्टियौ। अत्तालिदा मलाई पिसाब आउछ, रुदै बाउ खोज्न थाले, तुरुक-तुरुक पिसाबपनि चुहिँदै थियो जस्तो लाग्छ अहिले सम्झदा। कतै हराउदा रात नै नपरोस जस्तो लाग्ने रहेछ। साँझ पर्दै थियो, के बुद्धि आएर हो बाहिर निस्किए अलि पर बाउ टुसुक्क बसेर प्रतेक आउने जानेलाई हेर्दै हुनुन्थ्यो। धन्न शरीरमा ज्यान आयो। बोल्न त केही बोल्नुभएन बाउ तर आँखामा आँसु टलपलाइ रहेको थियो, हात काँपिरहेको थियो। उहाँले एक शब्द नबोलेपनि देखिन्थ्यो माया अनि डर।
झसरी अरुलाई आफ्नो बुबा सोझो लाग्छ मलाईपनि मेरो बाउ सधैँ सोझो लाग्यो। उहाँले आफ्नो तर्फबाट गर्न सक्नुहुने सम्पुर्ण कर्तव्य निभाउनु भयो। मेरोलागि उहाँले ठुलठुला सपनाहरु कहिल्यै बुन्नुभएन, बरु स-साना कुराहरुको ख्याल गर्न सिकाउनु भयो। सबैभन्दा महत्वपूर्ण कुरा त स्वतन्त्र भएर जीउन सिकाउनुभयो। कहिले बाउछोरा तास खेल्थ्यौ कहिले पन्जा लडाइ। खेलकुद या मनोरञ्जन गर्न कहिल्यै रोक्नुभएन। अभावकै बिचमा पनि हाँसिखुसी बित्यो बाल्यकाल र कोशोरावस्था।
भनिन्छ धेरै हाँसो भने रुनु पर्छ रे। निकै पटक अनुभव गरेको हुनाले मेरो मस्तिष्कमा यो भनाइ गाडिएर बसेको छ।
सम्भवत: मेरो आर्थिक अवस्था बुझेर हुनुपर्छ चारदिन हस्पिटलमा राखेपछि आमाबाउलाई घर लैजाने सल्लाह दिए डाक्टरले। त्यस बेला म १९ वर्षको थिए।
मलाई राम्रोसँग होस छैन हस्पिटलबाट घर लगेको कति दिन पछि हो आमाको स्वर्गवास भयो। त्यसपछिका मेरा केही दिनहरु अर्ध चेतमा बित्यो। आमाको काजक्रिया नगर्न सल्लाह दिए मानिसहरुले, कारण बाउपनि ओछ्यान पर्नुभएको थियो। तार्किक रुपमा भन्ने हो भने मैले बाउको मृत्यु कुरिरहेको थिए। आमा स्वर्गवास हुनुभएको १४ दिनपछि एलन जन्मियो। नातिनातिना हेर्ने आमाको ठुलो सपना अधुरै रह्यो।
जुन घरमा भर्खर मलामी गएर आएका हुन्छन त्यस घरमा जतिसुकै ठुलो खुसी आएपनि त्यो खुसी महत्वहीन हुने रहेछ। छोराको जन्ममा म कति खुसी थिए मलाई हेक्का छैन।
सुतिरहेको बाउको नजिक गएर भने “बाउ नाति।” उठेर नाति बोक्ने सामर्थ बाउमा कहाँ। रहर थियो होला नातिलाई बोकेर हिड्ने अनि हठ घोडा गराउने। तर त्यो सम्भव थिएन। ओडेको सिरक हटाएर अलिकति ठाउँ बनाउनु भयो र इशारामा भन्नुभयो “मेरो छेउमा राखिदे।”
हाय, त्यो पल! बाउको आँखामा पिडा र सुख, लाचारी र अभिमान एकै साथ देखिएको थियो। नातिलाई चुम्दै गर्दा थाम्दा थाम्दैको आँसु चुहियो, बाउको पनि मेरो पनि। शरीरले दिएको भए भक्कानिएरै रुने इच्छा हुदो हो।
भनिन्छ कुनै कुराको पछुतोले हर समय पिरोल्ने गर्छ। पछुताउनु पनि एउटा दुर्दशा न हो, जीवनमा यस्ता दुर्दशाको अन्त्य कहाँ। मलाई पनि एउटा पछुतोले हर समय झस्काइ रहन्छ। मानौ यो नै मेरो दुर्दशा हो।
पिसाब आयो भन्नु भयो बाउले, बिस्तारै उठाएर बाहिर लगे। उमेर त्यति गएको त होइन रोगले जीर्ण बनाएको शरिर थाम्न नसकेको हो उहाँले। पिसाब फेरिसकेपछि काँपेको आवाजमा मलाई हेर्दै भन्नुभयो “मलाई मुसा मार्ने दबाइ ल्याइदे, सहनु धेरै गार्हो भो।” म आफूले टेकेको जमिन भासिए जस्तै लाग्यो। संसारको कुनैपनि छोराले आफ्नो बाउको यस्तो आग्रह सुन्न नपरोस्। बाउलाई ओछ्यान पुर्याएर म खेतको डिलमा गए र भक्कानिएर रोए। आँसुको कुनै सीमा हुँदो हो त त्यसैदिन सकाउने थिए। यस्तो लाग्यो सारा सृष्टिमा म जस्तो लाचार छोरा कोही नहोला, जस्ले बिरामी आमा बाउको उपचार गर्न सकेन।
त्यसपछिका दिनहरु म बाउको अघि परिन, बाउलाई हेर्न सक्ने सामर्थ म मा थिएन। सायद यही कुराले मनमा डेरा जमाएर बसेको छ, किन म बाउको नजिक गइन? किन बाउसँगै फेरि सुतिन?
पुस महिनाको रात थियो, बाहिर बिछट्टै जाडो। गुम्लुङ्ग कपडा लगाएर म निस्किए। अलि पर ओरालीको बाँसघारी। आकाशमा सट्ट तारा खस्यो, मागेको पुग्छ रे! बालमस्तिष्कमा बसेको थियो। मैले बाउको मृत्यु मागे।
सबैजना आत्तिन थाले, बाउको सास जान लाग्यो रे। म हँसिया झिकेर खेत तिर लागे। घाँस काट्न होइन, यस्सै। जाडो महिना खेत उजाड थियो मेरो मन जस्तै। म डिलमा थचक्क बसे। बाउको श्वास अड्किदै चल्दै थियो होला उता, मेरो पनि हाल त्यस्तै यता। अचेत अवस्थामा नै भएपनि खोज्नु त भयो होला मलाई, आवाज बाहिर नआएको हुनसक्छ बल गरेर बोलाउनु त भयो होला मलाई। कसैसँग छुट्नु अघि किन भेट्न मन लाग्छ? खै! थाहा छैन। म केही सुनेपनि नसुने झै, केही बुझेपनि नबुझे झै बसिरहे त्यहीँ हँसिया माटोमा गाड्दै ट्वाक्क-ट्वाक्क..।
घरबाट कहालिदै रोएको आवाज आयो, दिदी हुनुपर्छ। यो संदेश थियो कि अब बाउ रहेनन्। मैले लामो सास फेरे। बाउले अब मुसा मार्ने औसधी कुर्नु परेन। मैले संसारमा सबैभन्दा धेरै माया गरेको मान्छे अब संसारमा छैन, अब देख्न पाउदिन भन्ने जानेर पनि मेरो आँखा रसाएन। म किन रोइन? थाहा छैन। आमाको मृत्युमा अचेत भइ ढलेको म बाउको मृत्युमा एक थोपा आँशु बगाइन। त्यसो त कुनै शब्दमा वर्णन गरिनसक्नु प्रेम गर्छु म बाउलाई।
समय बित्दै जाँदा यादहरुपनि धुँमलिदै जाने रहेछ। आज यस्तो लाग्छ त्यो सुर्तीको गन्ध मात्र पाएपनि कत्ति प्यारो हुन्थ्यो होला, जुन बाउबाट आउने गर्थ्यो।
मैले ‘बुबाको मुख हेर्ने दिन’ पनि हुन्छ भनेर कहिल्यै वास्ता गरिन। वास्ता नगर्नु र थाहा नहुनु दुई फरक कुरा हो। त्यसो त धेरै पटक मिठो परिकार खुवाएर माता तीर्थ औंसी नमनाएको कहाँ हो र। आमाको ममता अतुलनिय छ, आमाको माया अपरम्पार छ। अनि बुबा? जस्ले आफ्नो सारा जीवन सन्तानको खुसीको लागि समर्पित गरे, जस्ले सारा इच्छा मारेर सन्तानको खुसी रोजे। त्याग र सङ्घर्षमा जीवन बिताइरहेको उहीँ बुबालाई सन्तानले त्यति महत्व दिन सक्दैन। जब बुबालाई माया दर्शाउन रहर लाग्छ अफसोस त्यस समय बुबा आफूसँग हुदैन। पछुतो यस्तो रोग हो जुन जीवन भरि निको हुदैन। मलाई जस्तै यो रोग तपाईंलाई नलागोस्। त्यसैले टाढा हुनेले फोन गरेर, नजिक हुनेले आफै भेटेर दर्शाउनुहोस बुबालाई प्रेम, जस्को उहाँ हकदार हुनुन्छ।
अन्तयमा,
अभाव तथा गरिबीले मान्छेलाई नचाहेपनि लाचार बनाइदिन्छ, दुःख कष्टको प्रमुख स्रोत नै अभाव हो। त्यसपछिका मेरा दिनहरु दुःख कष्ट तथा लाचारिपनमा बित्दै थियो। हुन त हरेक परिस्थितिको दुइ पाटा हुने गर्छ, खराब परिस्थितिको पनि एउटा सकारात्मक पाटो यो हो कि यस्ले आफन्तहरुलाई नजिकबाट चिनाइदिन्छ।
बिहानै उठ्यो खाना पोको पार्यो अनि थोत्रो साइकल चडेर लाग्यो सिमेन्ट मुछ्न, ढुङ्गा बोक्न, इट्टा बोक्न। भोको पेटले न चर्को घाम भन्छ न पानि। भनौ अचानक आइपरेका जिम्मेवारी र कर्तव्यहरु पुरा गर्न म हर सम्भव प्रयत्न गर्दै थिए। त्यसैबेला एलन बिरामी पर्यो। हस्पिटल पुर्याउदा डाक्टरले सिलिगुडि इन्डिया जतिसक्दो चाँडो लानु भनि सम्झाए। दुःखको के कमि थियो र अर्को थपियो। हस्पिटलबाट फर्कदै गर्दा एलन मौन थियो किनकि उ बिरामी थियो, पुष्पा मौन थिइन किनकि म मौन थिए, म मौन थिए किनकि छोराको उपचार गर्ने पैसा थिएन।
घर आएपछि म खेतबारी तिर लागे, आफू भन्दा अग्ला मकैका बोटको पातहरु पन्छाउदै। म दुःख या सुख हरेक परिस्थितिमा यहाँ आउने गर्छु। खेतको डिलमा दुइवटा खमारिको रुख छ जुन बाउ आमा र म भएर धेरै पहिले रोपेका थियौ। त्यहीँ डिलमा उभिएर गोजिबाट पर्स झिकेर हेरे, त्यहाँ सयको दुइवटा पचासको दुइवटा र दशको एउटा नोट थियो।
-शुभम्
(कामख्या मन्दिर)
(आश माया चेमजोङ्/नर बहादुर लिङ्दम)