असफलको कथा
भनिन्छ यो दुनियाँमा न केहि मुस्किल छ न केहि सरल, सबै कुरा मान्नुमा छ
जस्ले सोच्छ मुस्किल उस्को लागि मुस्किल र जस्ले मान्दछ सरल उस्को लागि सरल।
यो भनाइसँग मिल्ने एउटा कहानी छ सुन्नुहुन्छ?
ऊ त्यहाँ झ्याल पट्टि अन्तिम टेबलमा हेर्नुस् त,
तै कालो टि-सर्ट खैरो ट्राउजर लगाको केटा के! कफि पिउदै किताब पर्दैछ नि त्यो नै हो असफल।
खास नाउँ अरु नै छ तर मैले न्वारान गरेर राखिदिएको नाउँ हो यो।
त्यसले लगाएको कपडाको दाम भन्छु ल! त्यो टि‑सर्ट ४०० को, ट्राउजर ४५० र जुत्ता ८०० बस त्यति। कफि ब्लाक हो सुगर लेस्।
यो रेष्टुराको म्यानेजरले लगाएको टाई महङ्गो छ त्यसको त्यो सब भन्दा, खैर! यो असफलको कहानी हो।
हाम्रो घर स्याङ्जा, जनता मा.वि.बाट संगै एस.एल.सी. पास गर्यौ, मेरो ८७% आएको थियो, त्यो बल्लैले पास, सबैले भन्थे मेरो संगतले मात्र त्यो पास भयो भनेर। हो पनि, त्यस्को पढाई अलि कमजोर थियो, ध्यान बाहिरी कुरामा बढि के। स्कुल पढ्न जाने हो नि हैन्? त्यस्ले के गर्थ्यो भनेनि, मसि सकिएको डटपेनहरु जम्मा गरेर त्यस्मा रिफिल फेरेर हुन्छ कि ईन्क भरेर हुन्छ फेरि नया जस्तै बनाउथ्यो र कक्षामा बाहिर भन्दा सस्तो दाममा बेच्थ्यो, केटाहरु सब खुस् डटपेन पनि पाइयो पैसा पनि जोगियो। ब्याच्लर सम्ममा त त्यसको ब्यापार पुरै तान्सेनभरि चर्चामा थियो। विद्यार्थीहरु आफुले पढिसकेका पुस्तकहरु ल्याएर त्यसलाई बेच्थ्यो अनि आफुलाई नाफा राखेर त्यहि पुस्तक अरुलाई बेच्ने गर्थ्यो। +2 देखि ब्याच्लरसम्मका पुस्तकहरुले कोठा भरिएको हुन्थ्यो।
हामि तान्सेन बसेर क्याम्पस पढिन्जेल त्यस्ले घरमा पैसा मागेको कहिल्यै देखिन। मलाई याद भएदेखि नै त्यसको ध्यान व्यापारमा थियो। एकपल्ट मैले सोधेको थिए, ‘भविष्यको लागि किन अहिलेदेखि नै यति गम्भिर छस् ह? भोलि के होला, तँ व्यापार नगरेर अरु केई पो गर्छस कि?’
मेरो यो प्रश्नमा त्यो एकैछिन् मौन रह्यो, मैले सोचे यो अब सुध्रन्छ।
लामो सास फेरेर त्यसले भन्यो, ‘तलाई कुन बाइक मन पर्छ?’
‘अरे! कताको प्रसङ्ग कता लगिस् ह?’
‘भन्ना कुन बाइक मन पर्छ?’
मैले भने ‘पलसर’। किनकि त्यो बेला पलसर बाइक को छुट्टै सान थियो।
अनि त्यसले भन्यो, ‘याद गर त तैँले सबै भन्दा बढि कुन बाइक देखेको छस होला?’
मैले सिधै भने ‘पलसर’।
फेरि उस्ले भन्यो, ‘हेर, हामीले जे कुरा चाहन्छौ नि त्यसैलाई बढि ध्यान दिने गर्छौ, बाइक त तैंले अरु पनि धेरै देखेको छस् तर जब पलसर देख्छस् त्यसलाई मन मस्तिष्कमा राखिहाल्छस्, त्यसैले त्यो बाइक धेरै देखे जस्तो लाग्छ, फ्युचर प्लानिङ् पनि त्यस्तै हो’।
फेरि त्यस्ले जोड्यो,
‘ भनिन्छ नि, हामी जे चाहन्छौ यो ब्रह्माण्डले त्यहि कुरा हाम्रो वरपर ल्याइदिन्छ, त्यसलाई चिन्न सके हामी धेरै अघि बढ्न सक्छौ’।
त्यस्को यस्ता कुराहरुमा म अक्सर चुप लाग्थे। मैले त्यसलाई हजार पल्ट सम्झाए होला विदेश हिँड नेपाल मा केई हुन्न भनेर तर त्यस्ले मानेन्।
मेरो क्षमताले राम्रै सरकारि जागिर खान सक्थे लोकसेवा गरेको भए, तर नेपालको तलबले मेरो अनन्तः इच्छा आकाङ्क्षालाई धेक्न सक्दैन थियो, त्यसैले ब्याच्लर पछि अमेरिका जाने निधो गरे। वालिङ्मा हाम्रो केहि पुर्खेउलि जग्गा थियो मैले सबै बेचे।
अब हामी दुइको जिवनले वास्तविक यात्रा सुरु हुदै थियो।
एकदिन मैले फेरि त्यसलाई भने ‘हिड विदेश’
हामी त्यति बेला केरा खादै थियौ, उस्ले केरालाइ देखाउदै भन्यो ‘यो एक दर्जन केरा कत्तिमा किनिस् ?’
मैले भने ’१० रुपैँयामा’
‘ल! भन यस्लाई कत्तिमा बेच्न सक्छस्?’
म एकैछिन अलमलिए र भने ‘सायद ११\१२ मा’
अनि त्यसले भन्यो ‘यानिकि १ या २ रुपैँया नाफा कमाउन सक्छस तर मेरो सोच अर्कै छ, म यो एक दर्जन केराको प्रतेक केरा बाट १० रुपैँया नाफा कमाउन सक्छु।’
मैले ‘कसरीको?’ को पारामा त्यसको अनुहारमा हेरे।
अनि त्यो बोल्यो,
‘हेर! यो एक केस्रा केरामा ५ रुपैँयाको दुध मिसा र थोरै काजु किसमिस राखेर मिक्सरमा घोलिदे “बनाना मिल्क सेक” तयार हुन्छ, त्यसको मुल्य २५ रुपैँया छ यानिकि १०-१५ रुपैँया चोखो नाफा, यसरि एक दर्जनमा १२०-१८० सम्म नाफा कमाउन सकिन्छ।’ त्यसले थप्यो, ‘हेर, सुरुवातमा अलि कठिन भएपनि नेपालमा पैसा कमाउने माध्यम धेरै छन।’
म विज्ञानको प्राक्टिकल गर्नेलाई त्यसको थेउरि चित्त बुझेन।
हामी सँगै गाँउबाट निस्कियौ, म अमेरिका तिर र त्यो होटल मेनेजमेन्ट ट्रेनिङ्को लागि काठमाडौँ।
मैले छुट्टिने बेला भनेको थिए, ‘हेर! तैले सोचेजस्तो सजिलो छैन्, त असफल हुन्छस् यस्मा कुनै शङ्का नै छैन, मलाई दुखेसो नपोख पछि।’
त्यो फिस्स मुस्कुरायो मात्र केहि बोलेन।
समय बित्दै गयो म आफ्नै दुनियाँमा हराए, कैलेकहि सुन्थे त्यो असफल भयो रे, त्यसले कहिल्यै केहि त भनेन तर म सोधिखोजि गरिरहन्थे, त्यसको प्रगतिको विवरण पनि सुन्थे बेला बेला।
ठिक १३ वर्षपछि म सदाको लागि नेपाल फर्किए, “विदेस बस्न मन लागेन” भन्छु सबैलाई तर अमेरिका छाड्नुको रहस्य म आफैमा छ।
१३ वर्ष धेरै हुने रहेछ अब त्यो असफल ‘सफल’ भैसकेछ त्यस्ले वालिङ्, तान्सेन्, बुटवल र पोखरा गरि ५ वटा रेष्टुरेण्ट र ७ वटा क्याफे खोलिसकेछ। आफ्नो गाँउलाई पनि उद्यमी बनाएछ, खै कति बिघा जमिनमा हो कफि र फलफुल खेति पनि सुरु गरिसक्यो रे।
गाँउघरमा फलेका सबै फलफुल तथा सागसब्जिहरु त्यसको रेष्टुरेण्टमा पुग्दो रहेछ। सँयौ बेरोजगारहरुलाई रोजगार दिएर राखेको रहेछ। त्यो अब अधिकाशंको प्रेरणाको स्रोत बनिसकेको रहेछ।
कत्ति ठक्कर खायो थाहा छैन, कत्ति मेहेनत गर्यो त्यो नि थाहा छैन तर त्यसको वर्तमानलाई हेर्दा सबले यहि भन्ने गर्छन “वाह! जिन्दगि होस त यस्तो”
वालिङ् त पुरै परिवर्तन भएछ, मेरो १३ वर्षको कमाईले पनि त्यो विदेश जानेबेला बेचेको जग्गा किन्न मुस्किल भयो। आफैलाई कत्ति मुर्ख रहेछु ठाने। कति सम्म मुर्ख है, जुन जग्गा बेचेर ताम झामका साथ छाति फुल्लाएर विदेश होमिए त्यहि जग्गा किन्न विदेशबाट कमाइ ल्याएको पैसाले नि नपुग्ने।
विदेश बसिन्जेल हो आफुसँग पैसा छ है भनि लामो सास तान्ने, स्वदेश फर्केको भोलिपल्ट देखि सुरु हुन्छ तनाव ‘पैसा सकिने’। केहि त गर्नै पर्थ्यो मैले पनि तर साथमा लगानि भएर मात्र के गर्नु सिप र ज्ञान नभएपछि। देखासिकी नै भनम केहि लगानि गरेर मैले पनि होटल व्यवसाय सुरु गरे तर २ वर्ष भन्दा टिकेन्, अनि त्यस्कै सरणमा पुगे। अहिले म जहाँ छु यो काठमाडौँमा त्यसले खोलेको नयाँ होटल हो, यसमा मेरो पनि अलिकति सेयर छ र यहाँको मेनेजर पनि म नै हो।
-शुभम्