सुखी ‘जीवन’

   ‘जीवनको कुनै मोडमा

मध्यातरमा या उत्तरार्धंमा

भेट अवश्य हुनेछ,

यी नयनहरु अवश्य जुध्नेछ

बस, तिम्रो शिर नझुकियोस्

सामु पर्न अनकनाएर

पाइला अन्तै नमोडियोस्’

– जीवनद्वारा ‘इशिका’ लाई

          

www.ekahaniharu.com

भौतिक वस्तुहरुको खाली ठाउँ भर्न धेरै सजिलो हुन्छ तर मन, यो खाली मन भर्न धेरै कठिन हुने रहेछ। कठोर त्याग गर्नुपर्छ, दुनियाँको अघि खुसी देखिने ढोङ् गर्नुपर्छ, हरेक पल कुनै कुकर्मको सजाय पाए जसरी जिउनुपर्छ, त्यसपछि पनि भन्न सकिन्न त्यो एक्लोपन त्यो खाली ठाउँ भर्न सक्छौ या सक्दैनौ।

      यस्तै खालीपनबाट भागेर मेरो बिगतलाई छोडेर म विदेशीएको ३ वर्ष भइसकेको थियो तर  बिगतलाई छोडेको मैले मात्र बिगतले र एक्लोपनले कहाँ….? अक्सर मलाई त्यहाँ कामले भन्दा एक्लोपनले बढी सताउने गर्थ्यो, यो एक्लोपन कत्ति भयानक हुन्छ है?

        २०१५ फेब्रुअरी १४ को दिन थियो यानि ‘प्रेमदिवस’ निको हुदै गरेको घाउमा नुन छर्कने गर्छ यो दिनले अनि याद दिलाई दिन्छ ती जिन्दगीभरि ‘नछुट्टिने’ भनि खाएका खोक्रा बाचाहरुको, याद दिलाईदिन्छ ती छाडिजानेहरुको जोसँग यो दिन जिइएको हुन्छ।

      मोबाइलमा नोटिफिकेसनको बत्ति बलेपछि म झस्कीए, ‘कबिता सेन्ट यू अ फ्रेण्ड रिक्वेस्ट’ को पो कबिता? मैले प्रोफाइल खोलेर हेरे, फोटो देखेपछि मन्द मुस्कान आयो, मैले रिक्वेस्ट एक्सेप्ट गर्ने बित्तिकै उताबाट मेसेज आयो “सर मैले १२ पास गरेनी’’ एक्कासि मेरो अनुहारमा हाँसो छायो, हाँस्न सायद भुलिसकेको थिए।

              कुरा २०१२ तिरको हो, लगनखेलमा म कक्षा १० लाई गणित ट्युसन पढाउथे, कबिता पनि त्यहि पढ्ने गर्थी। अलि बोलिरहने स्वभावकि थिइन, गणितका प्रश्न उत्तर गरिरहदा “ जीवन सर हजुरको गर्लफ्रेण्ड छ कि नाई?” भनेर सोध्थी, एकप्रकारले कक्षाको गम्भीर माहोल नै हाँसोमय बनाउथी।

      त्यो फेब्रुअरी १४ कै रात थियो, नयाँ नम्बरबाट फोन आयो,

 “सर! म हजुरलाई मन पराउछु।”

मैले हेल्लो भन्नासाथ उताबाट यस्तो आवाज आयो। कबिताको आवाज थियो त्यो।

मैले कहिल्यै त्यस्तो नसोचे पनि उस्को मनसाय बुझेको थिए,

मैले भने “तिमी कति वर्षकी भयौ?”

उस्ले भनिन् “१६”

“म २६ वर्षको हुँ।” मैले भने।

उस्ले भनिन्, “मायामा उमेरले असर गर्छ र सर?”

म एकैछिन अड्किए… अनि भने

“तिम्रो उमेरमा अट्राक्सन हुनु स्वभाविक हो, पहिले १२ सकाउ त्यसपछि मात्र सोच्नु यो माया को बारेमा।”

“त्यो सोचाइ तपाई कै भए हुन्छ नि?”

 उस्को यो प्रश्नमा मैले तुरुन्तै भने, “हामी बिच त्यस्तो केइ सम्भव छैन कबिता।”

यति भन्नासाथ फोन राखेकि थिइन्, त्यसपश्चात उनी कक्षामा हल्ला गर्न छाडेकि थिइन् सायद परिपक्क देखिन चाहन्थीन।

त्यसको केहिदिन पछि म कोरिया गए अनि ३ वर्षपछि यस्तो मेसेज गरेकि थिइन,

मैले ३ वटा हाँसोको इमोजि पठाए

उस्ले भनिन,

“सर, म हजुरलाई प्रपोज गर्छु ‘येस’ भन्नुस् न ल प्लिज!”

मैले हाँस्दै टाइप गरे, “अझै बच्पना गएको छैन है तिम्रो?”

“तपाईलाई माया गर्नु बच्पना हो भने म त सधै बच्चा नै रहने हो।”

उस्को कुरामा म मौन बसें,

केहिबेरको मौनतालाइ तोड्दै उस्ले भनिन्

“सर!”

“हजुर!”

“आई लव यू।”

“ठट्टा गर्न अरु पाएनौ?” मैले अलि रिसाए जसरी भने।

 उनी चुप रहिन् ।

अनि मैले भने,

“कबिता! तिमी म भन्दा १० वर्ष कान्छि छौ, यो एज ग्याप होइन यो त एउटा जेनेरेसन नै ग्याप हो र हामी एकअर्कामा धेरै फरक पनि छौ।”

उनी मौन रहिन् त्यसैले मैले कुरा अन्तै मोड्दै जिस्काए,

“अनि तिम्रो लव परेको छैन अझै?”

“अरु तिर ध्यान नै गएन सर, तपाईलाई मन दिएर ठुलै गल्ति गरेछु, अरुलाई यो मन दिनै सकिन हौ सर।”

“अरे! यो हौ भन्न कस्ले सिकायो ह?”

“हे-हे! उता तिर जाने भएपछि अहिले बाट नै सिक्नु परेन अनि।”

कस्तो केटि होला प्रतेक प्रश्नको रेडिमेट उत्तर हुने, मैले रिसाएको इमोजि पठाए।

“मेरो यो भ्यालेन्टाइन पनि खल्लै हुने भयो सर तर हामी साथी त बन्न सक्छौ नि है?” उस्ले भनिन्

“उम! साथी मात्र है” मैले आफु उस्को टिचर हो भन्ने कुरा बिर्सिएर भने।

“सुरुवात साथी बाटै हुन्छ” भन्दै उस्ले हाँसोको इमोजि पठाइन….।

  मलाई अझै सम्झना छ, पहिलो पल्ट कबितालाई जवलाखेलको फुटफाटमा लावारिस कुकुरहरुलाई खाना खुवाउदै गर्दा देखेको थिए, हातमा सेतो ग्लब्स लगाएर कुकुरहरुसँग जिस्कदै थिइन्।

  दिनहरु बित्दै गयो, प्रतेक दिन उस्को सयौं  मेसेज आउन थाल्यो।

 मपनि जति खाली समय मिल्थ्यो उनीसँगै बोल्ने गर्थे, उस्लाई ‘मर्निङ् विस’ गरेर मेरो दिनको सुरुवात हुन्थ्यो र उस्को ‘गुड नाइट’ सँगै मेरो दिनको अन्त्य।

 मैले के बुझे भने म त्यति खडुस पनि होइन रहेछु, म पनि धेरै बोल्ने रहेछु, एक्लोपनबाट गुज्रिरहेको बेला कोइ सुनिदिने हुदा मन साँच्चै नै हलुङ्‌गो हुने रहेछ।

सायद म कुनै पनि नयाँ कुरा अपनाउन डराउथे, पुरानोसँग यति लगाव छ कि नयाँको कतै गुन्जाइस नै छैन। तर कहिले सम्म…?

पुरानो जति नै प्यारो किन नहोस बिस्तारै-बिस्तारै त्यो छुटि नै जान्छ।

        एकदिन उस्ले भनिन्, “सर इशिकाको बारेमा भन्नुस न!”

“कसरी थाहा भयो तिमीलाई इशिकाको बारेमा?” मैले प्रतिप्रश्न गरे।

“क्लासमा अलि अलि सुनेको थिए।” उस्ले भनिन्

अ… मपनि उस्लाई सुनाउन चाहन्थे, कतै नबिसाएको यो मनको भारि कसै सामु बिसाउन चाहन्थे।

      “हामी स्कुल बाट नै साथी थियौ, कलेजसम्म आइपुग्दा कहिले साथीबाट प्रेमि भइसकेछौ थाहै भएन, एकदिन दुवैको घरमा थाहा भयो, हाम्रो जात र धर्म फरक थियो त्यसैले अन्तै विहे गराइदिने दबाब बढ्न थाल्यो।

 त्यस्तै बेला हामी दुईजनाले भाग्ने योजना गरेका थियौं, सफल भएन, भोलिपल्ट उस्को इङ्‌गेजमेन्ट भयो अनि म त्यहिदिन काठमाडौं तिर भासिँए। यति नै हो।”

मैले आफ्नो चार वर्षको सम्बन्धलाई एकै सासमा बताए।

मेरो कुरामा एकैछिन मौन रहेर उस्ले भनिन्, “इशिकाले तपाईलाई धोका दिइन है?”

“धोका होइन्, सायद म र आफ्नो परिवार मध्ये कुनै एक रोज्नु पर्दा दुबिधावश आफ्नो परिवार रोजिन।”

“सर, गुमाइसकेका कुरा जत्तिनै  प्यारो भए पनि हामी अघि बढ्नु त पर्छ नै हैन र?”

“उम! त्यही कोसिस ७ वर्ष देखि गरिरहेको छु।” मैले भने।

       भनिन्छ, जुन आँखालाई अन्धकार देख्ने बानी परिसकेको हुन्छ त्यो आँखा उज्यालोको सोचबाट पनि झस्कन्छ। सायद म त्यस्तै भएको थिए।

       “सर मलाई कोरियन भाषा सिकाउनुस न” एकदिन उस्ले भनिन्।

“ल भन के सिक्ने?”

उस्ले भनिन् “खाना खानु भयो?”

“फाब मगस्सयो?” मैले भने।

“आइ मिस यु”

“फोगो सिफयो”

“आइ लव यु”

“साराङ्..” म रोक्किए, “निउ खोजेको हो?”

उनी हाँसिन् “ए! ‘आइ लव यु’ लाई ‘निउ खोजेको हो’ पो भन्छ? उसो भए ‘निउ खोजेको हो सर’..।”

मलाई पनि हाँस उठ्यो।

उस्ले भनिन् “एक न एकदिन त ‘आइ लव यु’ भन्नै पर्छ के हेर्नुस न”

“त्यो दिन आउछ जस्तो लाग्दैन मलाई” मैले हाँसोमा उडाए।

      वास्तवमा म कुनैपनि भावनामा रुमलिन चाहन्न थिए, यस्ता अनावश्यक भावनाले झन कम्जोर बनाउछ, प्रेममा पर्नु म अझैपनि डराइरहेको थिए, भुकम्प पछि फेरि भुकम्प जाला कि भन्ने डर जस्तो।

तर उनी मलाई चाहन्थिन र मलाई मन पर्थ्यो उस्ले चाहेको।

     एकदिन मैले भने, “कबिता तिमीलाई हेर्न मन लाग्यो।”

हामी कुरा गरेको धेरै भइसकेपनि भिडियो कलमा बोलेका थिएनौ।

उस्ले भनिन्, “हाय… मेरो मनकै कुरा गर्नुभयो”

मैले भिडियो मोडमा लगे तर क्यामेरालाई औलाले छोपेर, उस्ले पनि त्यसतै गरेकि रहेछिन।

मैले भने “खै तिमी?”

उस्ले भनिन् “खै तपाई?”

म लाजले अझ रातो भए, कस्तो असुहाउदिलो लाज।

उस्ले भनिन् “३ काउन्ट गर्ने अनि एकै पल्ट औला हटाउने हस..?”

मैले ‘हस’ भने।

३ काउन्टमा उस्ले औला हटाइन तर मैले हटाइन,

उनी त्यस्तै रहेछिन ‘क्युट’ जस्तो पहिले थिइन।

उस्ले आँखा सानो पार्दै चोरि औला देखाइन अनि मैले पनि औला हटाए। उनी मुस्कुराइन, निश्चल प्रेम मिसिएको मुस्कान। म लाजले अझ रातो भए। दुवैजना मौन रहेर एकअर्कालाई हेरिरहिम् भन्ने शब्दहरु थिए सायद तर बोलि फुटेन।

पछाडिबाट उस्को मामुले ‘कोसँग बोलेको कबु’ भन्दै आउनुभयो।

उस्ले हाँस्दै भनिन्, ‘तपाईको ज्वाईसँग’

हत्तेरि..!  कस्तो लाज नभा है।

     उनीसँग म धेरै खुसी थिए मानौ जिवनले सार्थकता पाएको छ।

आखिर पुराना चिज जति नै प्यारो किन नहोस त्यहाँ नयाँले ठाउँ ओगट्ने नै रहेछ।

 जोसँग दुःख सुखका कुरा गरिन्छ, जोसँग धेरै समय बिताईन्छ उसँग ढिलो चाँडो प्रेम बस्ने नै रहेछ।

     म लगभग ५ वर्षको बसाइँ पछि नेपाल फर्किए। कबिता एयरपोर्ट आएकि थिइन, मैले टाढैबाट एकैछिन हेरिरहे। लामो कपाल दुईछेउबाट पछाडि लगेकि अनि सानो कालो टिका पनि जस्तो मलाई मन पर्थ्यो, हातमा फुलको बुकि बोकेर आशाले भरिएका आँखाहरुले प्रतेक निस्कनेहरुलाई हेर्दै थिइन।

मैले हात हल्लाएर इशारा गरे, उनी चिच्याउदै दौडेर आइन र कस्सेर अँगालो हालिन, मलाई सुरुमा त लाज लाग्यो फेरि मैले पनि अँगालोमा कसे र भने, “आइ लव यु” उनी अँगालोबाट छुटेर मलाई हेरिन्, उस्को आँखाबाट आँसु झर्यो, यो खुसीको आँसु थियो। मैले आँसु पुछिदिए र उस्को शिरमा मायाको स्पर्श दिए, उनी फेरि मसँग टाँसिइन, यताउति सबैले हामीलाई नै हेरिरहेका रहेछन।

       त्यसको एक वर्षपछि हामीले विवाह गर्यौ, आज फेब्रुअरि १४ हाम्रो पहिलो एनिभर्सरि, मुस्ताङ् जाने योजना खराब मौसमको कारण पुरा भएन, अब यता नजिकै हो जानलाई त तरपनि एक घण्टाबाट मैले यो पार्लरमा उसलाई पर्खिरहेको छु, उनी मेकअप गर्दैछिन् भित्र। पर्खिदा पर्खिदै हाम्रो प्रेम कहानी पनि लेखिसके।

अनौठो छौ हामी, म शान्त प्रकृतिको छु, उस्लाई बोलिरहनु पर्ने, उस्लाई म शान्त बसेकै मन पर्छ र मलाई उनी बोलिरहेकै। हामी बिच मनमुटाव या झगडा आजसम्म भएको छैन, मलाई डर थियो कि हाम्रो उमेरको कारण कुरा नमिल्ला भन्ने तर उस्ले मेरो हरेक कुरा सजिलै स्वीकारिन अनि मैलेपनि उस्को।                                                                                                                                                                                                                                                                                                            

हामी बिच केही समान्‌ता पनि छन् जस्तो कि, प्रत्येक रातमा खाना खाएपछि हात समातेर केहीबेर बाहिर हिड्ने अनि पुरानो कुनै गाना गजलमा बोलरुम डान्स गर्ने।

 जब म क्रिकेट या फुटबल हेर्न बस्छु तब उनी पोपकर्न बनाएर ल्याइदिन्छीन्, त्यस्तै दिनमा एकपल्ट म खाना बनाइदिन्छु। भर्खरै सानो बिजनेस् सुरु गरेका छौ दुवैजना त्यसैमा लागेका छौं।

         मेरो विश्वास छ कि संसारमा कोही ‘पर्फेक्ट’ हुदैनन्, यदि मलाई पैसा कमाउने जीवन साथी चाहिन्छ भने मैले यो सोच्नु हुन्न कि उस्ले घरको सबै काम सम्हाल्छे, यदि म शिक्षित जीवन साथी चाहन्छु भने उस्को हरेक तर्कलाई मैले स्विकार्नु पर्छ। उस्का केही कमी कमजोरीहरुलाई आफुले पुरा गर्दिनु पर्छ र आफ्ना कमी कमजोरीहरुलाई उस्ले पुरा गर्दिनुपर्छ।

सायद यिनै हुन सुखी जीवनका रहस्यहरु ।

-शुभम्

5 Comments

Add a Comment

Your email address will not be published. Required fields are marked *